• बैशाख १९ २०८३, शनिबार

देउवा भेट्न ओली गए बुढानिलकण्ठ : गरे यस्तो आग्रह

बैशाख २३ २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेतालाई भेटेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएकै दिन ओलीले देउवालाई भेटेका हुन् । भेटका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका प्रधानमन्त्री ओलीले सरकारलाई समर्थन गर्न आग्रह गरेको समाचार छ ।

एमाले र कांग्रेस नमिलेसम्म प्रतिनिधिसभाले नयाँ सरकार दिन नसक्ने जनाउँदै ओलीले सहकार्यका लागि प्रस्ताव पनि गरे। कांग्रेस नेताहरूले भने ओलीको प्रस्ताव अस्वीकार गरेका छन् । कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरिसकेको छ ।

सभापति देउवासहितका नेताहरूले प्रधानमन्त्रीबाट राजीनामा गरेर नयाँ सरकार गठनका लागि बाटो खोल्न ओलीलाई सुझाव दिए । वैशाख २७ गते संसदमा विश्वासको मत लिने तयारीमा रहेका प्रधानमन्त्री ओलीले राजीनामा गर्न कांग्रेस नेताहरूले गरेको आग्रहलाई खासै महत्व दिएनन् बरु उनले लोकतन्त्रका लागि सँगै लडेका दल र नेता भएको भन्दै सहयोग गर्न आग्रह गरे । उनले नयाँ सरकार पनि गठन नहुने र विश्वासको मत पनि नपाउने अवस्थाले संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान अप्ठेरोमा पर्ने धारणा राखे ।

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि निर्वाचनमा जानु नै उपयुक्त विकल्प रहेको दोहोर्याउँदै प्रधानमन्त्री ओलीले स्वच्छ, निष्पक्ष निर्वाचन गराउने प्रतिबद्धता जनाए । उनले चुनावी सरकारमा सहभागी हुन पनि कांग्रेसलाई आग्रह गरेका थिए । आगामी निर्वाचन कांग्रेसले जित्ने अवस्था रहेको आसयसहितको धारणा राखेका ओलीले भेटमा भनेका थिए, ‘प्रतिपक्षमै बसेर कांग्रेसले चुनाव जित्यो भन्दा तपाईंहरूलाई पनि राम्रो हुन्छ तर होइन हामी पनि सहभागी हुनुपर्छ भन्ने लागेको छ भने तपाईंहरू पनि सहभागि हुनुहोस्, मिलेर चुनाव सम्पन्न गराऊँ, म त्यसका लागि खुला छु ।’

उनले केपी ओली निरंकुश छ, समयमा निर्वाचन गराउँदैन भन्ने जस्ता कुराको पछि नलाग्न आग्रह गरे । आफू लोकतान्त्रिक शासन व्यवस्थाका लागि जेलनेल बसेको भन्दै आशंका नगर्न समेत उनले आग्रह गरे । आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गराउने तयारीमा रहेका प्रधानमन्त्री ओलीले मिलेर सत्तासाझेदारी गर्न नसके त्यसअघि नै निर्वाचनमा जान प्रस्ताव गरेका थिए ।
‘समयमा निर्वाचन गराउँछु, म त भन्दैछु केही समयअघि नै चुनावमा जाऊँ,’ ओलीलाई उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘सरकारबाहिर बसेर सहयोग गर्ने वा होइन, केके हो भन्ने लागेको छ भने सरकारमा सहभागी बनौं, मिलेर चुनाव गरौं । तपाईंहरूको बहुमत आउँछ, सरकार बनाउनुस् ।’

जवाफमा कांग्रेस नेताले प्रधानमन्त्री ओलीको भनाइ र गराइमा फरक रहेको भन्दै विश्वास गर्न नसकिने धारणा राखेका थिए । एमालेसँग मिलेर संविधान निर्माण गरे पनि सरकारमा सहभागी भएपछि त्यसको मर्म र भावनाअनुसार काम नगरेको भन्दै सभापति देउवासहितका नेताले असन्तुष्टि जनाएका थिए । यो समाचार नागरिक दैनिकमा छ ।