काठमाडौं । १३७ दिनदेखि आमरण अनशनरत गंगामाया अधिकारीले बुधबार अनशन तोडेकी छिन्।
छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनशनमा रहेकी गंगामायाले कोभिड–१९ का कारण लागू गरिएको निषेधाज्ञामा न्याय दिने निकाय पनि बन्द रहेकाले अनशन तोडेको जनाएकी छिन्।
उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेकी छिन्, “कोभिड–१९ बाट नेपाली दाजुभाइ, दिदीबहिनी बचाउन सम्पूर्ण राज्य संयन्त्रहरू लागिपरेको अवस्थामा मैले आमरण अनशनको माध्यमबाट म समेत संलग्न द्वन्द्वपीडितहरूको न्यायको लागि लडिरहँदा न्याय नपाउने अवस्था रहेकाले मैले आफ्नो अनशन आजको मितिमा निलम्बन गर्ने निर्णय गरेको कुरा सबैलाई अनुरोध गर्दछु।”
कोरोनाका कारण अनशन तोडे पनि न्यायप्राप्तिको लडाइँ जारी रहने उनले बताएकी छिन्।