• बैशाख १९ २०८३, शनिबार

ओली सरकारलाई समर्थन नभएको पत्र बुझाँउदै माओवादी

बैशाख २२ २०७८, बुधबार

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र औपचारिक रुपमा संसद सचिवालयलाई आज बुझाउने भएको छ । पार्टीको बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाउन लागेको माओवादीले जनाएको छ ।

मंगलबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सरकारलाई पार्टीको समर्थन नरहेको पत्र बुधबार बुझाउन लागिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

‘सरकारलाई समर्थन नरहेको जानकारी गराउँदैछौं । किनभने केपी ओलीको असंवैधानिक ढंगको संसद विघटनको विरुद्धमा हामी थियौं र ओलीलाई तात्कालिन नेकपाको अध्यक्ष र नेकपाको पार्टी सदस्यबाट निष्कासन गरिएको थियो’, पोखरेलले भने, ‘त्यतिबेलै दुई तिहाइ भन्दा बढी केन्द्रीय समिति सदस्यले ओलीको पार्टी मान्य नभएको र आधिकारिक पार्टी प्रचण्ड–माधवले नेतृत्व गरेको पार्टी हो भनेर निर्वाचन आयोगमा भनिसकेका छौं ।’

संसद विघटनपछि पुनःस्थापना हुँदासमेत ओली नै प्रधानमन्त्री भइरहेकाले कानुनी प्रक्रिया पुर्याउने पत्र बुझाउन लागेको माओवादीको भनाइ छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङको नेतृत्वको टोली पत्र बुझाउन संसद सचिवालय जाने भएपनि समय यकिन भइनसकेको पोखरेलले जानकारी दिए । ‘आज पत्र बुझाउने पक्का हो तर समय तय भैसकेको छैन, सायद ११ बजेतिर हुनसक्छ’ उनको भनाइ छ ।