• बैशाख १९ २०८३, शनिबार

२०४औं मार्क्स जयन्ती : मार्क्सवादी सिद्धान्तमा अडिग रहन केन्द्रको अपील

बैशाख २२ २०७८, बुधबार

काठमाडौं । संसारका पूँजीपति विद्वानहरुले समेत मानेका यो युगका दार्शनिक कार्ल मार्क्सको आज जन्मदिन । मार्क्सलाई संसार भरका कम्युनिस्ट पार्टी र तिनका सदस्यहरुले त मान्नै नै भए, पूँजीवादी विचारको विकल्पमा उनले दिएको समाजवादी विचारका कारण संसारका पूँजीपतिहरुले पनि उनलाई दार्शनिक मान्दछन् । ५ मे विश्व कम्युनिस्ट आन्दोलन र साम्यवादी आन्दोलनको एक ऐतिहासिक र अविष्मरणीय दिन हो । आजकै दिन अर्थात् सन १८१८ मे ५ का दिन राइन समाचार पत्रको सम्पादक समेत भइसकेका माक्र्सवाद विचारका प्रवर्तक एवम् साम्यवादका सिद्धान्तकार कार्ल  मार्क्सको जर्मनीको प्रशाको राइन प्रदेशभित्र पर्ने ट्रियर नगरमा जन्म भएको थियोे । उनै मार्क्सको सन् १८८३ मार्च १४ का दि लण्डनमा देहावसान भएको थियोे ।

आज  मार्क्स जन्मेको २०३ वर्ष पूरा भइसकेको छ र विश्वभर माक्र्सको २०४ औं जन्म जयन्ती मनाउने काम भइरहेको छ । कार्ल मार्क्स विश्वका सर्वहारा वर्ग र उत्पीडित जनसमुदायका नेता हुन् । जर्मन निवासी फ्रेडरिक एंगेल्स (सन् १८२० –१८९५) को सहयोगमा सन् १७४८ फ्रेब्रुअरी २१ का दिन घोषणा गरिएको विश्वविख्यात कम्युनिस्ट घोषणापत्र मार्फत  मार्क्सले  मार्क्सवादी सिद्धान्तको निर्माण गरेका हुन् ।  मार्क्सको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो र यसको सिद्धान्त भौतिकवाद हो भने द्वन्द्ववाद यसको पद्धति हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद विश्व सर्वहारावर्गको विश्व दृष्टिकोण हो ।

यसैबीच विश्वभर क्रियाशील अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले उनै कार्ल मार्क्सको जन्मदिनको अवसरमा कम्युनिस्ट नीति र आदर्शबाट कोहीपनि विचलित नहुन आग्रह गरेको छ । सो संगठनका अध्यक्ष हस्तबहादुर केसीदरा आज जारी विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो । केसीले विश्वमा साम्राज्यवादका विरुद्ध विश्वका श्रमजीवीहरु एकढिक्का हुनु नै आजको आवश्यकता भएको जनाएका छन् ।

‘बाह्य रुपमा विभिन्न प्रतिक्रियावादी, पूँजीवादी र साम्राज्यवादीहरुले माक्र्सवादी सिद्धान्तमाथि भीषण हमला गर्दै आएका र दुश्मनहरुले आन्तरिक रुपमा पनि  मार्क्सवादमाथि हमला बोलेका समयमा  मार्क्सवादको आन्तरिक दुश्मनका रुपमा संशोधनवाद जन्मियो । मार्क्सवाद आन्तरिक र बाह्य दुबै प्रकारका दुश्मनका विरुद्ध संघर्ष गर्दै अगाडि बढ्यो र त्यो  मार्क्सवाद-लेनिनवाद-माओवादका रुपमा पनि विकसित हुन पुग्यो । माक्र्सवाद मानवीय श्रमशक्ति, प्रकृति विज्ञान र वर्गसंघर्षको आधारमा खडा थियो । त्यस सिद्धान्तलाई हल्लाउने ताकत कसैमा थिएन । त्यसैले त्यो विश्व सर्वहारावर्ग र उत्पीडित मानवजातिको मुक्तिको अपराजय सैद्धान्तिक हतियार बन्न पुग्यो । उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष तथा नयाँ वैज्ञानिक आविष्कार एवम् प्राविधिक क्षेत्रमा भएका प्रगति र विश्वका विभिन्न देशहरूमा हुँदै आएका क्रान्ति तथा प्रतिक्रान्तिका परिघटनाका सन्दर्भमाथि ध्यान दिँदा आज  मार्क्सवादका सामु गम्भीर प्रकृतिका चुनौतीहरु थपिन पुगेका छन् तर त्यस प्रकारका चुनौतीहरुको सामना गर्दै क्रान्तिको धरातलीय यथार्थ तथा ऐतिहासिक आवश्यकताका बीचबाट नयाँ संभावनाका ढोकाहरु खोल्ने सामथ्र्य माक्र्सवादमा नै सन्निहित छ,’ केसीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

मार्क्सवादी सिद्धान्त सामाजिक रुपान्तरण र क्रान्तिको ऐतिहासिक विज्ञान हो । मार्क्सद्वारा ऐतिहासिक भौतिकवाद र अतिरिक्त मूल्यको सिद्धान्तको आविष्कारको परिणामस्वरूप वैज्ञानिक समाजवादको जन्म भएकोले  मार्क्सवाद वैज्ञानिक समाजवाद, वर्ग, वर्गसंघर्ष, सामाजिक क्रान्तिमा बल प्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र साम्यवादको सैद्धान्तिक मान्यतामा आधारित छ ।

विज्ञप्ति मार्फत् केन्द्रले  मार्क्सवादका प्रतिपादक कार्ल  मार्क्सको २०४औं जन्म जयन्तीको यस ऐतिहासिक दिनमा  मार्क्सवाद विश्वको ऐतिहासिक आवश्यकता अनुसार विश्वसर्वहारा वर्ग र सिंगो मानवजातिकै मुक्तिको लागि जन्मिएकोले यसको औचित्य र सान्दर्भिकता अहिले पनि उत्तिकै छ भन्दै मार्क्सवादी सिद्धान्तप्रति आफ्नो संगठन प्रतिवद्ध रहेको जनाएको छ । केन्द्रका अध्यक्ष केसीले विज्ञप्तिमा मार्क्सवादको आौचित्य तथा सान्दर्भिकताका बारेमा लेख्न, बोल्न, प्रचारप्रसार गर्न र लागू गर्न समेत दृढ रहेको प्रतिवद्धता समेत जाहेर गर्न चाहन्छ । र, आजको साम्राज्यवाद तथा सर्वहारा क्रान्तिको युगमा विश्व सर्वहारा क्रान्तिको विजयले मात्र  मार्क्सवादको औचित्य र सान्दर्भिकता साकार हुने विश्वास व्यक्त गर्दछ, भनिएको छ ।