काठमाडौं । नयाँ भेरियन्टसहितको कोभिड १९ संक्रमण तिव्र गतिमा बढिरहेको अवस्थामा प्रेस काउन्सिल नेपालले कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं मृतकको सामूहिक दाहसंस्कारका तस्बिरहरु विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पोष्ट भएका घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले यस संवेदनशील अवस्थामा आमसञ्चारमाध्यमबाट सम्प्रेषण हुने सामाग्रीमा सजगता अपनाउन जरुरी रहेको जनाउदै ती घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो ।
यसरी विवरण र तस्बिर सम्प्रेषण गर्दा गोपनीयतासम्बन्धी मौलिक हकको प्रतिकूल हुने, मानवीय संवेदना खल्वलिने, प्रभावित व्यक्तिलाई थप पीडा हुने भएकोले काउन्सिलले यस्ता विषयमा पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन, २०७६) र कोरोना भाइरस संक्रमण सम्बन्धमा २०७६ चैत १० गते जारी निर्देशिका बमोजिम केही मिडियाको ध्यानकर्षण गराएर कतिपय पत्रकारहरूबाट प्रयोग भएको सामाजिक सञ्जालको प्रवृत्तिगत अध्ययन गरी अभिलेख राखिएको समेत जनाएको छ । 