काठमाडौं । पशुपति आर्यघाटमा दिनहुँजसो शव जलिरहेका हुन्छन् । ती जलिरहेका शवको दृश्य देखेपछि जोकोहीको मन निरव हुन्छ । र, निरस भएर फर्किन्छ ।
यसपटक निरव र निरसमात्रै होइन, पूरै सन्नाटा छाउने दृश्य देखिन्छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि मृतको शव अन्त्येष्टिको दृश्यले पशुपति आर्यघाट नै सन्नाटामा परिणत भएको छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट मात्रै नभएर अन्य कुनै कारणले ज्यान गुमाएकाहरूको अन्त्येष्टि प्रायः पशुपति आर्यघाटमै गरिन्छ । तर, यसपटक भने अन्य कारणले ज्यान गुमाउनेहरूभन्दा पनि संक्रमणबाट ज्यान गुमाउनेहरूको संख्या बढेको छ ।
आर्यघाटमा एकपछि अर्को शव जलाउनेक्रम रोकिएको छैन । तथापि ती शवलाई आआफ्नै संस्कारअनुसार अन्त्येष्टि गरिए पनि साथमा आफन्त–आफन्ती आउनसक्ने अवस्था भने छैन । किनकि ती मृतको शव कोरोना भाइरस संक्रमणका कारण भएको हो ।
संक्रमणबाट मृत्यु भएकै कारण आफन्त–आफन्तीले देख्न पाए पनि छुन पाउने अवस्था छैन । यसर्थ ती शवले उनीहरूबाट माया, ममता, पुष्पगुच्छा र सम्मान पाउन सक्ने अवस्था झन् रहेन ।
शवको व्यवस्थापन तथा दाहसंस्कार सेनाको टोलीले गरिरहेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट ज्यान गुमाउने जति पनि मृतकको संख्या छ, त्यो सबै सेनाको शव वहानमार्फत पशुपति आर्यघाटमा पुर्याइन्छ । र, संस्कारअनुसार उनीहरूको अन्त्येष्टि गरिन्छ ।
पहिलेको जस्तो मृतकका आफन्तले शवमा पुष्पगुच्छा चढाएर माया र सम्मानपूर्वक दाहसंस्कार गर्ने अवस्था यसपटक छैन । यो समयको बाध्यता हो भन्दै आफन्त–आफन्तीले अमिलो मन पार्दै चित्त बुझाएका छन् ।
पहिलो चरणको कोरोना संक्रमणबाट ज्यान गुमाएका शवको दाहसंस्कार विद्युतीय शवदाहगृहबाट अन्त्येष्टि गरिन्थ्यो । तर, यसपटक भने ३ वटा शवदाहगृहले पनि धान्न नसकेपछि बागमती किनारमै जलाउनुपर्ने बाध्यता भएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।
प्रवक्ता पौडेलका अनुसार, –‘नेपाली सेनाले दैनिक कोरोना संक्रमणबाट ज्यान गुमाएका १५ देखि २० वटा शव जलाउँदै आएको छ ।’ शवको व्यवस्थापन तथा दाहसंस्कार उपत्यका पृतनाले गर्ने गरेको छ ।
यस कार्यका लागि उक्त पृतनाका १५० जना नेपाली सेना खटिएका छन् ।
सेनाले एकैपटक ४ देखि ८ वटासम्म शव जलाउने गरेको छ । दैनिक १५ देखि २० वटा शव आउने भएकोले विद्युतीय शवदाहगृहले समेत नधानेपछि बागमती किनारामा अन्त्येष्टि गर्ने गरेको पशुपती क्षेत्र विकास कोषले जनाएको छ ।
सोमबार (हिजो) ८ वटा शव जलाइएको छ । बागमती किनारमा पालोपालो गरी ४÷४ वटा शव जलाइएको थियो ।
दोस्रो लहरको कोरोना संक्रमण बढेसँगै देशैभरी नेपाली सेनाले सोमबार (हिजो) र मंगलबार (आज) दुई दिनमात्रै ९२ जनाको शव व्यवस्थापन गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।