• बैशाख १९ २०८३, शनिबार

भारतीय दूतावासद्वारा स्कूल बस प्रदान

बैशाख १० २०७८, शुक्रबार

काठमाडौं/

काठमाडौँस्थित भारतीय राजदुतावासले नेपालका विभिन्न सरकारी विद्यालयहरुका साथै विभिन्न संघ संस्थाहरुलाई यातायातका साधनहरु उपहार प्रदान गरेको छ । दुतावासले हालै एक कार्यक्रम आयोजना गरेर ती यातायातका साधनहरु वितरण गरेको हो । दुतावासले विद्यालयहरुलाई विद्यार्थी ओसार पसार गर्ने बसहरु प्रदान गरेको छ भने अरु विभिन्न संघ संस्थाहरुलाई बिरामी ओसार पसार गर्ने एम्बुलेन्स प्रदान गरेको छ ।

दुतावासबाट स्कुल बस प्राप्त गर्ने विद्यालयहरुमा राजधानीको टोखा नगरपालिकाको धापासीस्थित तिलिङ्गटार माध्यमिक विद्यालय, चितवनको भरतपुर महानगरपालिका पदम पोखरीस्थित अमर माध्यमिक विद्यालय, रुपन्देहीको सैनामैना नगरपालिका रानीबगैचास्थित श्री सैनामैना माध्यमिक विद्यालय, संखुवासभाको खाँदबारी नगरपालिका तुम्लिङ्गटारस्थित श्री मनकामना रत्न अम्बिका माध्यमिक विद्यालय, गुल्मीको रेसुङ्गा नगरपालिका उपल्लो तम्घासस्थित श्री उपल्लो तम्घास माध्यमिक विद्यालय र दार्चुलाको खलंगास्थित श्री महेन्द्र नमुना माध्यमिक विद्यालय रहेका छन् ।

त्यस्तै भारतीय दुतावासबाट ५० भन्दा बढी संघ संस्थाहरुले एम्बुलेन्स प्राप्त गरेका छन् । दुतावासबाट उपहार स्वरुप प्राप्त उक्त स्कुल बसलाई तिलिङ्गटार माध्यमिक विद्यालयमा पूजा समेत गरिएको छ ।

तिलिङ्गटार पुर्व वाल विकास कक्षा
तिलिङ्गटार पुर्व वाल विकास कक्षा

यसैबीच हालै राजधानीको टोखास्थित तिलिङ्गटार माध्यमिक विद्यालयमा एक आधुनिक पूर्वबाल विकास कक्षाको उद्घाटन गरिएको छ । निर्माण र आधुनिक सामग्री जडान सम्पन्न भइसकेपछि सो पुर्वबाल विकास कक्षाको नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक समारोहकाबीच उद्घाटन गरेका थिए ।