काठमाडौं । नेकपा एमालेले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले नेताहरुको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेको हो ।
बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि कुनै जिम्मेवारी दिएको छैन । बैठकमा अध्यक्ष केपी ओलीले नेपाल समूहमा रहेका नेताहरु पार्टीको मूलधारमा फर्किएपछि उपर्युक्त जिम्मेवारी दिइने जानकारी दिए । बैठकले नेताहरु विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा जिम्मेवारी हेरफेर गरेको छ ।
नयाँ जिम्मेवारी अनुसार अध्यक्ष केपी ओली, स्कूल विभाग प्रमुख, महासचिव ईश्वर पोखरेल केन्द्रीय कार्यालय प्रमुख र उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् । यसैगरी विष्णु पौडेल संगठन विभाग प्रमुख र रामबहादुर थापा वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभागको प्रमुखको जिम्मेवारी तोकिएको छ ।
स्थायी कमिटी सदस्यमा समेटिएका वामदेव गौतमलाई पनि अहिले कुनै जिम्मेवारी दिइएको छैन । गौतम पार्टी काममा नरहेकाले उनलाई जिम्मेवारी नदिइएको हो । बैठकले शेरबहादुर तामाङलाई केन्द्रीय कार्यालय सचिव, केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजाललाई पार्टी स्कूल विभाग सचिव र सूर्य थापालाई प्रेस चौतारीको इञ्चार्ज तोकेको छ ।