तनहुँ । भीमाद–८ का वडाध्यक्षले सेवाग्राहीमाथि हातपात गरेका छन् । वडा कार्यालय अरौंदीस्थित नवदूर्गा टोलमा बिहीबार बिहान ११ बजे वडाध्यक्ष बुद्धिमान श्रेष्ठले वडाकै चिरञ्जीवी खनाललाइ कुटेका हुन् ।
खनाल आमाको मृत्युपछि हकवालाको पत्र बनाउन आउँदा विवाद भएपछि कुटपिट भएको बताइएको छ । सामाजिक सञ्जालमा खनाललाई वडाध्यक्ष श्रेष्ठले मुक्का प्रहार गरेको भिडियो आएको छ।
भिडियो ४० सेकेण्डको मात्र छ । वडाअध्यक्ष श्रेष्ठ भने भिडियोमा अन्य भाग काटेर आफूलाई फसाउने खोजेको उद्देश्यले यस्तो गरेको दाबी गर्छन् । खनालले आफ्नो जग्गामा वडाध्यक्षलाई घर बनाउन रोकेका कारण त्यसकै रिसमा अध्यक्षले सिफारिस साइन नगर्दिएको आरोप लगाएका छन् । सिफारिसमा साइन गर्न अनुरोध गर्दागर्दै अध्यक्षले एक्कासी मुक्का प्रहार गरेको उनको भनाइ छ ।
उता वडाध्यक्ष भने खनालले एकोहोरो झगडा गर्न थालेको र आफूलाई हान्न ढुंगा टिपेपछि आफू पनि प्रतिकारमा उत्रिएको बताउँछन् ।