झापा । झापामा मृत्यु भईसकेका व्यक्तिको नक्कली नागरिकता बनाई जग्गा ठगी गर्ने गिरोह पक्राउ परेको छ । झापास्थित बिर्तामोडका स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उदेश्यले नक्कली टुंग बहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा झापा बाह्रदशी ३ का ३९ बर्षीय मंगल सिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ बर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० वर्षीय लिलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ बर्षीय बलराम बिश्वकर्मा, झापा शिबसताक्षी ८ का ४२ बर्षीय भुपदेव कटुवाल रहेका छन् । यसै गरी झापा अर्जुनधारा ५ का ५३ बर्षीय लेखनाथ खनाल, झापा बिर्तामोड ४ का ३४ बर्षीय गोविन्द वान्तवा, बिर्तामोड १० का ७१ बर्षीय देवी प्रसाद पाण्डे, बिर्तामोड ४ की ३३ बर्षीया रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ बर्षीय राजन विश्वकर्मा रहेका छन् ।
उक्त समुहले झापा बिर्तामोड १ स्थित अदुवा पुलबाट १०० मिटर पश्चिममा पुर्व-पश्चिम राजमार्गमा जोडिएको स्वर्गिय टुंग बहादुर बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३.७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सो समुहले उक्त जग्गा ठगी गर्नको लागी पक्राउ परेकामध्ये देवी प्रसाद पाण्डेलाई नक्कली टुंग बहादुर खडा गरी नक्कली नागरिकतासमेत बनाई २०७७ साल असोज २८ गते काठमाडौं जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल बिर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको हो ।
उक्त वारेशनामामार्फत झापा बिर्तामोड ४ की रञ्जु राईको नाममा २०७७ साल माघ २१ गते राजिनामा पास गरेको घटनाकोबारे ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दरखास्त परेको थियो । प्रदेश एकका प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनाको पर्दाफास गर्दै घटनामा संलग्न उनीहरुलाई पक्राउ गरिएको हो ।
हाल यस ठगी धन्दामा अन्य सम्बन्धित निकायका प्रतिनिधीहरुसमेतको संलग्नता तथा पहिचान भई फरार रहेका उनिहरुको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका उपर ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।