• बैशाख १९ २०८३, शनिबार

संक्रमण बढ्न थालेपछि बाँकेमा ९ गतेदेखि लकडाउन गरिंदै

बैशाख ७ २०७८, मंगलवार

बाँकेमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र रुपमा फैलिन थालेपछि  वैशाख ९ गतेदेखि पुनः लकडाउन गर्ने निर्णय भएको छ । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको मंगलबार बसेको बैठकले बाँकेमा तीव्र गतिमा चारैतिर फैलिरहेको कोरोनाको चेन तोड्नका लागि कम्तीमा एक साताको लकडाउन गर्नुपर्ने निर्णय गरेको हो ।

बिगत एक सातादेखि हरेक दिन सयौंको संख्यामा कोरोना संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

प्रजिअ गेलालले भने, ‘सिफारिस आएको छ । के–कस्तो अवस्थामा र कहिलेसम्म भन्ने बिषयमा होमवर्क गर्दैछौं’, ‘दैनिक संक्रमण बढेपछि यही ९ गतेबाट लकडाउन हुन्छ ।’ कोरोना संक्रमित र मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरुले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए ।

एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि यतिबेला बाँकेका सबै कोरोना विशेष वार्डहरु भरिभराउ भएका छन् । सोमबार मात्र ३ सय २२ जना कोरोना संक्रमित फेला परेका थिए ।