• बैशाख १९ २०८३, शनिबार

दैनिक ११ हजार कोरोना संक्रमित हुनसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

चैत्र ३१ २०७७, मंगलवार

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दैजाादा दैनिक ११ हजारसम्म संक्रमित हुन सक्ने अनुमान प्रक्षेपण गरेको छ । कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्ने संभावना पनि प्रक्षेपण गरिएको छ । उच्च विन्दुमा पुग्दा दैनिक ११ हजारसम्म पुग्नसक्ने संक्रमितको संख्यालाई सेवा पुर्याउनका लागि सरकारले अहिलेदेखि तयारी थाल्नु जरुरी छ ।

पहिलो कुरा त संभावित आँकलन प्रक्षेपण गरेर स्वास्थ्य मन्त्रालयले राम्रो काम गरेको छ । यसका लागि मन्त्री त्रिपाठी धन्यवादका पात्र भएका छन् । यसले तयारीका लागि सचेत बनाएको छ । सरकारसहित स्वास्थ्यसँग सम्बन्धित निकायहरुले यसका लागि पहलको तयारी आजैदेखि थाल्नु पर्छ ।

जेठ–असारमा कोरोना संक्रमण माथिल्लो तहमा पुग्दा दैनिक ११ हजार संक्रमित हुने र सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण हुँदा यसलाई सबैक्षेत्रबाट स्वाभाविक अनुमानका रुपमा लिइएको छ । बरु यसको व्यवस्थापनका लागि समयमै तयारी गरिनु पर्ने आवाज यसैसाथ उठेको छ । हालको ट्रेण्डका आधारमा गरिएको यो प्रक्षेपण आवश्यक तयारीका लागि पनि भएको अधिकारीहरुले जनाएका पनि छन् ।

पहिलेको भन्दा भ्यारियन्ट फरक छ । लहर पनि फरक किसिमले आएको छ । अहिले युवा र कम उमेर समूहमा नयाँ भेरियन्टको संक्रमण देखिन थालेको छ । संक्रमणको चेन ब्रेक गर्न उपत्यकासहित ठूला सहरमा एक महिना विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न सिफारिससमेत् गरिएको छ ।
हाल तयारीका रुपमा विदेशबाट आएकालाई मुख्य नाकामा परीक्षण गर्ने, संक्रमितलाई आइसोलेसन सेन्टर वा अस्पतालमा पठाइने रणनीति अपनाइने भएको छ । मुख्य सिमानाकाहरुमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर बनाउने प्रक्रिया पनि सुरु गरिसकिएको छ । राजधानी सहर रहेको काठमाडौं उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन समेत् दिइएको छ ।