काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका मालपोत अधिकृतलाई २४ हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई २४ हजार नगद घुससहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीका अनुसार मालपोत कार्यालय नजिककैको एक होटलमा सेवाग्राहीबाट लिएको २४ हजार घुस रकमसहित उनलाई नियन्त्रणमा लिइएको हो ।
अंशबण्डा र जग्गाको हाल साविक गर्नमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत अधिकृत जोशी अख्तियारको फन्दामा परेका हुन् । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।