• बैशाख १७ २०८३, बिहीबार

२ हजारबढी लागुऔषध कारोबारी पक्राउ, पक्राउ परेकाजति सबै भरिया

फाल्गुन २८ २०७७, शुक्रबार

दाङ, २८ फागुन । लुम्बिनी प्रदेशमा बितेको तिन वर्षको अवधिमा २ हजार ३ सय भन्दा धेरै लागु औषध कारोबारमा संलग्न पक्राउ परेका छन् । लागू औषध नियन्त्रणका लागि विभिन्न प्रयास भएपनि कारोबार भने रोकिन सकेको छैन् । पक्राउ पर्नेमा विदेशी नागरिक समेत रहेका छन् ।
लुम्विनी प्रदेशमा आर्थिक वर्ष ०७५-७६ देखि चालु आर्थिक वर्षसम्म लागूऔषध कारोबारमा संलग्न २ हजार ३ सय ६६ जना पक्राउ परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष ०७५÷७६ मा १ हजार २ सय ११ जना पक्राउ परेका छन् । आर्थिक वर्ष ०७६-७७ मा ८ सय २ जना कारोबारी पक्राउ परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार वैदवारले जानकारी दिए । यसैगरी चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ५२ जना पक्राउ परेका छन् । प्रदेशमा तीन वर्षको अवधिमा २ हजार २ सय ३५ जना पुरूष रहेका छन् भने १ सय ३१ जना महिला पक्राउ परेको प्रवक्ता वैदवारले बताए । देशका अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशमा लागूऔषध कारोबारमा विदेशी नागरिककोे पनि संलग्नता देखिएको छ ।

प्रदेशमा बितेको तीन वर्षको अवधिमा ७५ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैजना भारतका नागरिक रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । खुल्ला सीमानाका भएका कारण भारतीय कारोबारीले नेपालमा समेत कारोबार गर्ने गरेको प्रवक्ता वैदवारले बताए । “लुम्बिनी प्रदेशका अधिकांश जिल्ला भारतसँग जोडिएका छन, खुल्ला सीमा नाकाका कारण भारतीय तस्करहरूले नेपालमा पनि कारोबार गर्ने गरेका छन्” प्रदेश प्रहरी प्रवक्ता बैदवारले भने । उनका अनुसार प्रहरीले सीमा नाकामा पनि कडाई गर्न थालेपछि कारोबारी धमाधम पक्राउ पर्न थालेका हुन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला वर्षमा कारोबारमा संलग्नहरु कम पक्राउ परेको तथ्याङ्कले देखाएको छ । लुम्विनी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७५÷७६ मा ४२ विदेशी पुरूष र १ हजार १ सय ६९ जना नेपाली नागरीक पक्राउ परेका छन् । त्यसमा १ हजार १ सय ४ जना पुरूष र ६५ जना महिला रहेका छन् । त्यसैगरी आर्थिक वर्ष ०७६-७७ मा १९ जना विदेशी पुरूष, ७ सय ८३ जना नेपाली नागरीक पक्राउ परेका छन् । त्यसमा ७ सय ४२ जना पुरूष छन् भने ४१ जना महिला रहेका छन् । त्यसैगरी चालु आर्थिक वर्षमा १४ जना विदेशी पुरूष र ३ सय ८८ जना नेपाली नागरीक लागु औषध ओसारपसारको आरोपमा पक्राउ परेका छन् ।

जसमा ३ सय १४ जना पुरूष र २४ जना महिला रहेका छन् । लुम्बिनी प्रदेशमा सबैभन्दा बढी चरेसको कारोबार हुने गरेको देखिएको छ । प्रहरीका अनुसार तीन वर्षको अवधिमा ५ सय ९९ सय किलो चरेस बरामद गरिएको छ । त्यसैगरी गाँजा १ सय ८५ किलो, अफिम १ सय ९५ किलो, ब्राउनसुगर ४ किलो बरामद गरिएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशमा लागू औषध नियन्त्रणका लागि विभिन्न प्रयास र सचेतनाका कार्यक्रमहरु भएपनि कारोबार रोकिन सकेको छैन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बैदवारका अनुसार पहाडी जिल्लामा उत्पादनगरी भारततर्फ विक्रि वितरणकालागि लैजाँदै गर्दा उनीहरु पक्राउ परेका हुन् । त्यसैगरी भारतबाट कारोवारकालागि नेपाल छिरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेकाहरु सबै भरीया मात्रै रहेकोले मुख्य कारोबारीसम्म अझै प्रहरी पुग्न सकेको छैन ।