काठमाडौं । सरकारसित वार्ता मार्फत् शान्ति प्रकृयामा आएको विप्लव नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारले उपलब्ध गराएको सुरक्षाकर्मी फिर्ता गरिदिएका छन् । विशिष्ट राजनीतिक अवस्था भन्दै उनको सुरक्षाको लागि सरकारले उनलाई इन्स्पेक्टरको नेतृत्वमा १० जनाको प्रहरी टोली खटाएको थियो ।
तर सुरक्षा र सुविधा उपलब्ध भएको एकहप्ता पनि नबित्दै विप्लवले सुरक्षाकर्मीको टोली फिर्ता गरिदिएका छन् । विप्लव नेकपाका एक नेताले आफ्नो पार्टीका महासचिव विप्लवलाई सरकारले दिएको सुरक्षा र सुविधा फिर्ता गरिदिएको पुष्टि गरे । सरकारले दिएको सुरक्षाकर्मी किन फिर्ता गर्नु भएको हो, भन्ने प्रश्नमा ती नेताले भने, ‘सरकारी सुविधा आवश्यकता र आकश्मिकताको आधारमा प्रयोग हुने कुरा हुन् त्यसैले परिस्थितिको आवश्यकताले प्रयोग गर्नु भयो अब फिर्ता गरिदिनु भयो, यो सामान्य कुरा हो’ । अब उनको सुरक्षा उनकै कार्यकर्ताले गर्नेछन् । पार्टी शान्ति प्रकृयामा आएपछि नेताहरु सरकारी सुविधामा लिप्त भएर जनता र सहिद परिवारलाई भुल्छन् कि भन्ने चिन्ताले उनका कार्यकर्ताले सरकारी सुरक्षाकर्मी लिएकोमा विरोध जनाएका थिए ।
विप्लव नेकपाका केही कार्यकर्ताहरु अझैपनि नेताहरु केपी ओलीसित पार्टी एकता पो गर्ने हुन् कि वा सरकारमा गएर बद्नाम गर्ने हुन् कि भन्ने चिन्ताका साथ आशंकाकै नजरले हेरिरहेका छन् भने वार्ता प्रकृयामा आएका नेताहरुले आफ्ना कार्यकर्ताले गरेको आशंका पुष्टि नहुने बरु आफूहरु व्यवहारिकरुपमै क्रान्तिकारी भएर देखाइदिने बताइरहेका छन् ।
यसअघि पनि विप्लवले दोस्रो संविधानसभा भंग भएसँगै आफ्नो पार्टी सडक संघर्षमा जाने भएपछि सुरक्षाकर्मी फिर्ता गरिदिएका थिए । त्यस्तै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले पनि सरकारले दिएको सुरक्षा र सुविधा फिर्ता गरिदिएका छन् भने सो पार्टीका उपाध्यक्ष सीपी गजुरेलले भने अझैपनि सुरक्षा र सुविधा फिर्ता गरेका छैनन् । सरकारी सुविधा नलिनेमा वैद्य माओवादी र विप्लव नेकपाका नेताहरु पर्दछन् । अन्य सत्तारुढ पार्टीका प्रायः सबै नेताहरुले सुरक्षा सुविधा लिने गरेका छन् ।
झण्डै २ हप्ताअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटेका सुरक्षाकर्मीको संख्यामा सरकारले कटौती गरिदिएको छ । सुरक्षाकर्मीको संख्या कटौती गरिएपछि कांग्रेस नेता रामशरण महतले आफू असुरक्षित भएको महसुस भएको बताएका थिए । सत्तारुढ वा प्रतिपक्ष दलका नेताहरुले सुरक्षाकर्मीको संख्या घटेको चिन्ता व्यक्त गरिरहँदा यता विद्रोही नेता विप्लवले भने पाएको सुरक्षाकर्मी पनि फिर्ता गरिदिएका छन् ।