काठमाडौं । रोजगारीको लागि दक्षिण कोरियामा रहेका एक नेपालीको मृत्यु भएको छ । औद्योगिक दुर्घटनामा परी उनको ज्यान गएको जनाइएको छ ।
बागलुङ जिल्ला गलकोट नगरपालिका–११ घर भई हाल कोरियाको थेगु शहरस्थित एक राइस मिल कम्पनीमा कार्यरत ४५ वर्षीय जयराम भनिने अशोक श्रीषमगरको दुर्घटनामा परी गत सोमबार मृत्यु भएको हो ।
घटनालाई नेपाल मगर सङ्घ दक्षिण कोरियाका अध्यक्ष टेक पुनले पुष्टि गरेका हुन् । दुई वर्षअघि कोरिया आएका अशोक कम्पनीमा काम गर्ने क्रममा सोमबार साँझ करिब ६ बजे लडेका थिए ।
लडेपछि बेहोस भएका उनलाई नजिककै अस्पताल पुर्याइएको थियो । अस्पताल पुग्नासाथ उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शवलाई कोरियाली प्रहरीले स्थानीय अस्पतालमा राखेको छ । मृतकका परिवारलाई खबर गरिएको नेपाल मगर सङ्घका अध्यक्ष पुनले बताए ।