• बैशाख १७ २०८३, बिहीबार

विनय ५० हजार धरौटीमा छुटे

फाल्गुन २६ २०७७, बुधबार

बीबीसीको १०० प्रभावशाली महिलामा परेकी सपना रोका मगरलाई अभद्र ब्यवहार तथा सामाजिक सञ्जालमा गालीगलौज गरेको मुद्दामा पक्राउ परेका विनयजंग बस्नेत रिहा भएका छन्।

२४ दिनदेखि हिरासतमा रहेका बस्नेतलाई बुधबार थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। उनसँग अभद्र व्यवहारमा १० हजार र साइवर अपराधको मुद्दामा ४० हजार रुपैयाँ धरौटी माग गरेको थियो।

अदालतले माग गरेको धरौटी बुझाएर विनय बुधबार नै हिरासतमुक्त भएका छन्।

विनयविरुद्ध सपनाले माघ १९ गते प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन्। फागुन ४ गते प्रहरीले उनलाई काठमाडौँको गोंगबुबाट पक्राउ गरेको थियो।

प्रहरीले मंगलबार अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। उक्त प्रतिवेदनमा साइवर अपराधमा ५ वर्षसम्म जेल वा एक लाख रुपैयाँ जरिवाना र अभद्र व्यवहारमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना माग दाबी गरिएको थियो।

पहिलेसँगै काम गर्दै आएको विनय र सपना अहिले छुट्टा छुट्टै संस्थामार्फत बेवारिसे शव व्यवस्थापनको काम गर्न थालेका छन्। बाबुछोरी बताउने दुईबीच पछिल्लो समय सम्बन्ध समेत बिग्रिएको छ।