नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खान र गौरी खानका छोरा आर्यन खान ‘ड्रग केस’ मा फसेपछि राजनीतिक क्षेत्रमा पनि यसका बारेमा खैलाबैला भयो ।
यद्यपि, आर्यन अक्टोबर ३० मा जेलबाट बाहिर आइसकेका छन् तर, शाहरुख र गौरी आफ्नो छोराका लागि निकै चिन्तित छन् । उनीहरु आर्यनको मानसिक स्वास्थ्यको विषयमा चिन्तित छन् ।
यसैबीच, भारतीय कंग्रेसका नेता राहुल गान्धीले अक्टोबर १४ मा शाहरुख खान र गौरी खानको नाममा पत्र लेखेका छन् । उनले आर्यन खान लागुऔषध प्रकरणमा मुछिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
इन्डिया टुडेका अनुसार कंग्रेस पूर्वअध्यक्ष राहुल गान्धीले पत्रमा आर्यन जेलमा रहँदाको पीडा महसुस गर्न सक्ने उल्लेख गरेका छन् ।
उनले पत्रमा लेखेका छन्, ‘कुनै छोराछोरी पनि यस्तो अवस्थाको लायक हुँदैनन् । शाहरुख खानले धेरै व्यक्तिहरुका लागि राम्रो काम गर्दै आएका छन् । उनका प्रशंसकहरुको प्रार्थना र उनका राम्रा कामहरु उनीसँग छन् ।’
उनले आर्यन छिट्टै रिहा हुने पनि बताएका थिए । उनले सबै परिवारमा छिट्टै खुशी छाउने पनि आशा व्यक्त गरेका छन् । आर्यन खान २८ दिन जेलमा रहेका छुटेका हुन् ।