काठमाडौं । इराकको राजधानी बग्दादमा आइतबार तीनवटा कात्युशा रकेटहरू अवतरण गराइएका छन् । त्यहाँको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाए अनुसार त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन ।
बिहान सबेरै रकेटहरू अलमन्सूर नजिक अवतरण भएका थिए । स्रोतले सिन्ह्वालाई जनाए अनुसार उक्त रकेटहरू मध्ये एउटा रेड क्रिसेन्ट अस्पताल नजिक, अर्को अल जैटौन स्ट्रिट नजिक र तेस्रो अल–अमिरात स्ट्रीटको एक निजी बैंक बाहिर अवतरण भएका थिए ।
यस आक्रमणबाट कुनै मानवीय क्षति नभए पनि नजिकका भवनहरू र कारहरूमा केही क्षति पुगेको स्रोतले बताएको छ । रकेटहरूले स्पष्ट रूपमा अमेरिकी दूतावास नजिक ग्रीन जोनलाई निशाना बनाएका थिए तर त्यसले लक्ष्य ठम्याउन भने असफल भएका छन् ।
ग्रीन जोन, जसमा केही मुख्य इराकी सरकारी कार्यालयहरू र अन्य विदेशी दूतावासहरु पनि छन् । उक्त क्षेत्रमा विद्रोहीहरूले बारम्बार मोर्टार र रकेट आक्रमण गर्ने प्रयास गरिरहेका छन् । करिब १० वर्ग किलोमिटरको सो क्षेत्र टाइग्रिस नदीको पश्चिमी किनारमा अवस्थित छ ।