एजेन्सी । विश्वोकै सर्वाधिक खोजीको सूचीमा राखिएका कोलम्बियाका मस्ट वान्डेट ड्रग्स तस्कर डेरो एन्टोनियो उसुगा पक्राउ परेका छन् । ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई कोलम्बियाको सुरक्षा फौजले शनिबार पक्राउ गरेको हो ।
राष्ट्रपति इभान डुक्युले ओटोनिल पक्राउले लागुऔषध नियन्त्रणमा ठूलो सफलता मिल्ने बताए । उनले कोलम्बियाका कुख्यात लागुऔषध तस्कर पाब्लो इस्कोबरसँग अटोनिलको तुलना गरे ।
इस्कोबर ३ दशकअघि पक्राउ परेका थिए । ओटोनिलमाथि अमेरिकामा अवैध रुपमा कोकिन पठाएको, प्रहरीहरुको हत्या गरेको, बालबालिकालाई ड्रग्स कारोबारमा लगाएको, बालबालिकामाथि दुर्व्यवहार गरेको लगायत अभियोग छ ।
कोलम्बियाले यसअघि ओटोनिलबारे सूचना दिने व्यक्तिलाई पक्राउ गर्ने व्यक्तिलाई ८ लाख अमेरिकी डलर पुरस्कार दिइने जनाएको थियो । त्यस्तै, अमेरिकाले यस कार्यमा सहयोग गर्नेलाई ५० लाख पुरस्कार दिइने घोषणा गरेको थियो ।
‘हाम्रो देशमा भइरहेको ड्रग्सको कारोबारविरुद्ध यो यस शताब्दीको ठूलो झट्का हो,’ राष्ट्रपति डुक्युले भिडियो सन्देशमार्फत भने, ‘यो झट्काको तुलना ९० को दशकमा भएकोे पाब्लो इस्काबरको पतनसँग मात्रै गर्न सकिन्छ ।’ ओटोनिललाई पक्राउ गर्ने क्रममा एक प्रहरी घटनास्थलमा मारिएको राष्ट्रपति डुक्युले बताए ।