• मंसिर १३ २०८१, बिहीबार

आजदेखि बढ्यो बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा

कार्तिक १ २०७८, सोमबार

काठमाडौँ। बागमती प्रदेशमा सार्वजनिक सवारी साधनमा वृद्धि गरेको भाडादर आज (सोमबार) देखि लागू भएको छ । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गते देखि लागू हुने गरी २३ प्रतिशत भाडादर थप गरी नयाँ भाडादर समायोजन गरेको छ ।

प्रदेश सरकारले वृद्धि गरेको भाडादर अनुसार अव काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्म सार्वजनिक यातायात चढ्नासाथ १८ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागको अनुरोधमा २०७५ साल पछि प्रदेश अन्तर्गत पहिलो पटक भाडादर समायोजन गरेको मन्त्रालयले जनाएको छ । बृद्धि गरेको भाडादरअनुसार १० किलोमिटरसम्म २३ रुपैयाँ, १५ किलोमिटरसम्म २७ रुपैयाँ, २० किलोमिटरसम्म ३० रुपैयाँ र २० किलोमिटरभन्दा माथि ३५ रुपैयाँ भाडा लाग्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता नविन कुमार सिंहले जानकारी दिए ।

डिलक्स सुविधाको अनुमती लिएका गाडीहरुले भने २० प्रतिशतसम्म भाडादर बढी लिन पाउने छन् । यात्रुले तोकिएको भाडादरसँगै सामाग्रीहरु बोकेमा १५ केजीसम्म निःशुल्क र त्यस भन्दा माथि १० केजीसम्म प्रतिकेजी ५ रुपैयाँका दरले सामाग्री लैजान पाउनेछन् ।