• बैशाख १० २०८२, बुधबार

तालिबान र अमेरिकाबीच कतारमा पहिलो वार्ता

आश्विन २५ २०७८, सोमबार

 काठमाडौँ। अमेरिकाले अफगानिस्तान छोडेपछि र त्यहाँ तालिबानी सत्तामा आएपछि अमेरिका र तालिबानबीच पहिलोपल्ट वार्ता भएको छ । कतारमा भएको दिपक्षीय वार्तामा अफगानिस्तानलाई मानवीय सहायता दिने कुरामा अमेरिका सहमत भएको तालिबानले बताएको छ ।

उता अमेरिकी अधिकारीहरुले भने वार्ता तथा छलफल खुला र व्यवसायिक भएको बताउँदै कार्यान्वयनको आधारमा तालिबानलाई आफ्नो देशले मुल्याङ्गकन गर्ने बताएका छन् । अमेरिकाले अर्को महत्वपूर्ण कुरा भने यो भेटघाटले तालिबानलाई मान्यता दिएको अर्थ नराख्ने समेत बताएको छ ।

आइतबार राति तालिबानले जारि गरेको आफ्नो विज्ञप्तिमा भनेको छ, ‘अमेरिकी प्रतिनिधिहरूले अफगानलाई मानवीय सहायता दिने र अन्य संघ संस्थालाई त्यस्तो सहयोग दिन सहयोग गर्ने बताएका छन् ।’ विज्ञप्तिमा तालिबानले ‘पारदर्शी रूपमा मानवीय सहयोग दिने परोपकारी समूहहरूसँग समन्वय गर्ने र विदेशी नागरिकको अनुशासित यात्रालाई सहयोग गर्नेुपनि बताएको छ ।

अफगानिस्तानमा मानवीय सङ्कट आउन सक्ने चेतावनीकाबीच सो वार्ता भएको हो । विश्व बैंकका अनुसार अफगानिस्तानको कुल गार्हस्थ उत्पादनको ४० प्रतिशत विदेशी सहायतामा निर्भर छ ।

अमेरिकी नेतृत्वको बहुराष्ट्रिय सेना फिर्ता भएसँगै गत अगस्ट १५ मा तालिबानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको एक खर्ब अमेरिकी डलर रोक्का गरेको छ ।