दसैं सुरु भइसकेपछि मानिसको भिडभाड निकै बढ्दै गैरहेको छ । सहरबाट गाउँमा जाने मानिसहरुको ओइरो लागिरहेको छ । सबै आआफ्ना घरतिर लागिरहेका छन्, दसैं मनाउनका लागि । बाहिर हाँसीखुसी भएपनि भित्र भने कतै न कतै त्रास लुकेर बसेको छ ।
यो त्रास कोरोना महामारीले निम्त्याएको त्रास हो । आफ्नै घरमा, आफन्तकहाँ र आफ्नै इष्टमित्रकहाँ जाँदा पनि महामारी संक्रमणको त्रासले मानिसलाई खुलेर आउजाउ गर्न दिएको छैन । खुलेर कार्यक्रमहरु तथा भेटघाट गर्न दिएको छैन । तर पनि मानिस केही आत्तिएका छन् । धैर्यताको कमी देखिन्छ ।
पोहर परारसाल दसैं मनाउन नपाएका हुनाले यो साल दसैं भव्य रुपमा मनाउन भित्रभित्रै सबैले तयारी गरेको देखिन्छ । त्यसैले पनि सहरमा अध्ययन, रोजगार तथा विभिन्न काम विशेषले आएका मानिसहरु घरघर फर्किएका छन् ।
अघिल्ला वर्षहरुमा देशमा लकडाउन थियो । यो वर्ष लकडाउनको सट्टा निषेधाज्ञा जारी गरिए पनि त्यसलाई हटाइएको छ । सामाजिक परिवेश केही बढी खुकुलो र खुल्ला हुन गएको छ । मास्कको प्रयोगमा बानी बसेजस्तो देखिए पनि आवश्यक सामाजिक दुरी भने कायम हुन सकिरहेको छैन ।
लकडाउन र निषेधाज्ञा जारी गरिदा खुम्चन जाने परिस्थतिले हरेकको जीविकोपार्जनमा निकै ठूलो असर पुर्याएपछि हाल देशमा सबै क्षेत्रहरु खुुल्ला गरिएको छ । त्यसैले पनि मानिसहरु दसैं मनाउन अलि केही बढि आतुर छन् । सबैको घरघरमा दसैंको तयारी चलिरहेको छ ।
वैदेशिक रोजगारीका लागि विदेशिएका नागरिक घर फर्किइरहेका छन् । उनीहरुका साथ विदेशबाट विभिन्न भेरियन्टका कोरोना संक्रमणका स्वरुपहरु स्वदेशमा भित्रिने हुन् कि भन्ने आशंका पनि निकै उठिरहेको छ । त्यसो त सहरबाट गाउँतिर फर्किइरहेका मानिसबाट पनि गाउँमा कोरोना संक्रमण हुनसक्ने जोखिम बढि नै छ ।
मानिस आफ्नो र आफ्नो परिवारको हुन्छ, तर रोग भने आफ्नो हुँदैन । तर त्यही पराइ रोग आफ्नो मानिसबाट सर्छ । त्यसैले दसैंको रमाइलो अवसरमा पनि हामीहरु आफन्तबाटै झस्किनु परिरहेको छ । सतर्क हुनु परिरहेको छ ।
पर्व आफैमा भेटघाट, मिलन र सहकार्यको अवसर हो । यसले मानिसको पारिवारिक जीवनमा निकटता, सहजता र मित्रता ल्याउँछ । तर कोरोना महामारीका कारण यो पर्व आफैमा जटिल र संवेदनशील बनिरहेको छ ।
यही जटिलता र संवेदनशीलतालाई नबिर्सिएर कोरोना महामारी संक्रमणबाट बच्न दसैंको भेटघाट र बसाइमा आवश्यक सतर्कता अपनाउन नभुल्न निकै ख्याल पुर्याउनु पर्ने देखिएको छ । त्यसैले पनि दसैं आफैमा ‘कोरोना हब’ बन्न नपाओस् भनेर सतर्क रहौं ।