काठमाडौं । कोरोनाका कारण बेलायत सरकारले लगाएको अन्तरराष्ट्रिय यात्रा प्रतिबन्धको ‘रेडलिष्ट’बाट नेपाल मुक्त भएको छ ।
११ अक्टोबर सोमबार बिहान ४ बजेबाट लागू हुनेगरी बेलायतले नेपाल लगायतका ५४ वटा मुलुकलाई रेड लिष्टको सूचीबाट हटाएको हो । तर, कोलम्बिया, डोमिनिक रिपब्लिक, पेरु, पानामा, इक्वेडर, भेनेजुएला र हाइटी भने अझै रेडलिष्टमा नै सूचीकृत छन् ।
रेड लिष्टबाट हटेपछि अब कोभिड खोपका दुबै डोज लगाएका यात्रुले बेलायत आउँदा ११ रातको होटेल क्वारेन्टिन बसिराख्नु पर्ने छैन । रेडलिष्टको सूचीमा रहेका मुलुकबाट बेलायत आउँदा बेलायती नागरिक वा बेलायतको आवासीय अधिकार पाएका व्यक्तिले आफ्नै खर्चमा ११ रात तोकिएको होटल क्वारेन्टिन बस्नुपर्नेछ । होटल क्वारेन्टाइनबापत प्रतिव्यक्ति प्रतिकोठा दुई हजार २८५ पाउण्ड अर्थात् नेपाली रुपैयाँ तीन लाख ७४ हजार जति हुन आउँछ ।
आउँदो सोमबारबाट नेपालबाट बेलायत आउनेले अनिवार्य होटल क्वारेन्टाइनबाट मुक्ति पाउनेछन् । दशैँको पहिलो दिन घटस्थापनाका दिन भएको बेलायत सरकारको निर्णयलाई नेपालीहरुले स्वागत गरेका छन् । तर, दशैँ आउन एक हप्ता भन्दा पनि कम समय रहेको हुँदा महँगो हवाई टिकटको मारमा पर्नुपर्ने यात्रुहरुको पीडा आफ्नै ठाउँमा छ ।
सामान्य अवस्थामा पनि दसैँको बेला हवाई टिकट महँगो हुने परम्परा रहेपनि छोटो समयमा भएको यो निर्णयले महँगो भाडा तिरेर पनि नेपाल जान कठिन हुने देखिन्छ ।