• मंसिर १२ २०८१, बुधबार

अमेरिका फर्केपछि पनि काबुलको मस्जिदमा हमला, ५ को मृत्यु

आश्विन १८ २०७८, सोमबार

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक मस्जिदको प्रवेशद्वारमा भएको बम विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबै सर्वसाधारण रहेका छन् । एक तालिबान अधिकारीले घटनाको पुष्टि गर्दै गत अगस्टमा अमेरिकी फौजले अफगानिस्तान छाडे यता भएको घातक आक्रमण भनेका छन् ।

आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन । तर, हालैका दिनहरूमा आफ्नो पकड क्षेत्र पूर्वी अफगानिस्तानमा तालिबानमाथि हमला गर्दै आएको इस्लामिक स्टेट अतिवादीले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ ।

काबुलको इदगाह मस्जिदमा तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदको आमाको स्मृति समारोह भइरहेको बेला आक्रमण भएको हो । आक्रमणको संदिग्ध तीन जनालाई पक्राउ गरिएको र आक्रमणमा तालिबान लडाकुहरूलाई भने हानी नभएको तालिबानका एक प्रवक्ताले बताए ।

हालैका दिनहरूमा अफगानिस्तानका विभिन्न स्थानहरूमा आइएस अतिवादी र तालिबानबीच आक्रमण र प्रत्याक्रमण भइरहेका छन् । एजेन्सीको सहयोगमा ।