• मंसिर १० २०८१, सोमबार

सरकारकै कारण दशैं र तिहार मनाउने सामान महँगो पर्ने

आश्विन ११ २०७८, सोमबार

काठमाडौं । सरकारको उदासीनताका कारण यस वर्षको दशैं तथा तिहारमा स्थानीय बजारमा लत्ताकपडा लगायत सामान महँगिने भएका छन् । चाडपर्वका लागि चीनको क्वान्चाउ लगायत क्षेत्रबाट किनिएको सामान २ हप्तादेखि सिगात्से, न्यालममा थुप्रिएका छन् ।

ल्हासा पार गरेका करीब ११ सय कन्टेनर चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न पार्किङ क्षेत्रमा छन् भने नेपाल तर्फको भन्सार नाका सुनसान छ । झिकाइएका अर्बौंको सामान बोकेका कन्टेनरले पालो पर्खिएर बसिरहेका छन् ।

तर, चिनियाँ अधिकारीहरूले खटाइखटाई कन्टेनर पठाउने गरेको र नेपाली आयातकर्ताले दशैंका लागि मगाएको मालसामान दशैंमा बेच्न पाउने सम्भावना टर्दै गएको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । ‘११ सयभन्दा बढी कन्टेनर खासा, न्यालम, सिगात्से क्षेत्रमा रोकिएका छन्,’ श्रेष्ठले भने ।

गएको बिहीवार तिब्बतको वाणिज्य, भन्सार, बन्दरगाह र विदेश मामिला कार्यालयका अधिकारीहरूसँगको संयुक्त बैठकमा तातोपानी नाकाबाट दैनिक २० ओटा कन्टेनर नेपाल प्रवेश गर्न दिने सम्झौता भए पनि बढीमा ८ कन्टेनर सामान आयात हुने गरेको तातोपानी भन्सार प्रमुख नारद गौतमले बताए ।

‘तिब्बतको ल्हासाका लागि नेपालका महावाणिज्य दूत नवराज ढकालसँगको बैठकमा तिब्बतका अधिकारीहरूले दैनिक २० ओटा कन्टेनर सामान पठाउन सहमति गरे पनि त्यो अनुपातमा भित्रिएका छैनन्,’ गौतमले भने, ‘अहिले दैनिक ८-९ कन्टेनर सामान आइरहेका छन्, त्यो पनि १ वर्ष अगाडि मगाएको सामान मात्र हो ।’

अहिलेसम्म दशैं र तिहारलक्षित सामान नआएको उनले बताए । ‘कृषि, स्वास्थ्यका सामग्रीमात्रै भित्रिएका छन्,’ उनले भने ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।