• फाल्गुन २८ २०८२, बिहीबार

भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुन्छ : परराष्ट्रमन्त्री खड्का

आश्विन ६ २०७८, बुधबार

काठमाडौँ। नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्नो कार्यकालमा भारत र चीनसँगको सम्बन्ध अत्यन्तै सन्तुलित हुने बताएका छन्। बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका परराष्ट्रमन्त्री खड्काले सञ्चारकर्मीमाझ छिमेकी दुई मुलुक भारत र चीनबीचको सम्बन्ध अत्यन्तै सुमधुर, अत्यन्तै घनिष्ठ, मैत्रीपूर्ण र अत्यन्तै सन्तुलित हुने बताए।

परराष्ट्र नीति कुनै दलविशेषको नहुने उल्लेख गर्दै राष्ट्रिय सहमतिका साथ अघि बढने उनले प्रतिबद्धतासमेत व्यक्त गरे। मन्त्री खड्काले राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्धलाई अघि बढाउने काममा आफू केन्द्रित भएर लाग्ने पनि बताए।

उनले एमसिसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हितअनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पारे।

खड्काले संयुक्त राष्ट्र संघको महासभामा एमसिसीबारे छलफल नहुने पनि स्पष्ट पारे। उनले त्यस अवसरमा विश्वका विभिन्न देशका परराष्ट्रमन्त्रीहरूसँग द्विपक्षीय हितका विषयमा छलफल हुने बताए। नवनियुक्त परराष्ट्रमन्त्री खड्काले आफू संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिएर आएपछि विभिन्न देशमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने जानकारीसमेत दिए।

आजै साँझ संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै खड्का अमेरिका जाँदैछन्।