तम्घास । गुल्मीमा पहिरोले पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिएको हो । पहिरोले घर पुरिँदा तिलककी तीन छोरीको मृत्यु भएको छ ।
२१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र जमुना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । गंगा–जमुना जुम्ल्याहा हुन् । घर माथिबाट ढुंगासहित खसेको पहिरोले पुरिँदा घरमा सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको हो ।
गए राति करिब १ बजेतिर पहिरो खसेको थियो । पहिरोमा पुरिएर तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनास्थलमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र शशस्त्र प्रहरी पुगिसकेको छ । पहिरोमा पुरिएर मृत्यु भएकाहरूको शव परीक्षण गर्न तम्घास अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरूषोत्तम पाण्डेले घरमुली तिलक, उनकी श्रीमती र अर्की एक छोरी भने सुरक्षित रहेको बताए । उनीहरू अर्कै कोठामा सुतेका थिए । उनीहरूलाई छिमेकीको घरमा राखिएको पनि प्रहरीले जनाएको छ ।