• फाल्गुन २८ २०८२, बिहीबार

देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने

आश्विन ५ २०७८, मंगलवार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने भएका छन् ।

सत्तारुढ गठबन्धनमा परराष्ट्र मन्त्रालय नेपाली कांग्रेसले लिने सहमति जुटेसँगै उनलाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

संयुक्त राष्ट्रसंघको महासभामा नेपाली टोलीको नेतृत्व गर्दै जानुपर्ने भएपछि देउवाले खड्कालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भएका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्रमन्त्रीले नेपाली टोलीको नेतृत्व गर्दै महासभामा जाने निर्णय गरेको थियो । मंगलबार अपरान्ह भएको सत्तागठन्धनको बैठकमा प्रधानमन्त्री देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए ।

दलहरुबीच मन्त्रिमण्डललाई शीघ्र पूर्णता दिने विषयमा बैकठमा छलफल भएको र बुधबार पुनः गठबन्धनको बैठक बस्ने कार्यसूची तय भएको छ ।

आजको बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई तथा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलको सहभागिता थियो ।