काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा(एमाले) विभाजित हुनु र नयाँ दल खोल्नु पर्ने बाध्यताबारे स्पष्टोक्ति दिएका छन् ।
आज बसेको नेकपा )एस)को केन्द्रीय कमिटीको प्रथम बैठकमा उनले केपी ओलीको गुटवन्दीपूर्ण, निरंकुश, स्वेच्छाचारी र व्यक्तिवादी चरित्र विरुद्धको विद्रोह भएको बताउदै राजनीतिक प्रस्तावमा उक्त स्पष्टोक्ति दिएका छन् ।
उनले पार्टी विभाजनको मुख्य जड ओलीले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरीत ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर गरिएको बैठक भएको उल्लेख गरेका छन् ।
दस्तावेजमा भनिएको छ – उनले २०७७ फागुन २८ गते केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबरै नगरी पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरीत ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर पार्टीभित्रको आफ्नो गुटको मात्र बैठक गरी नेकपा (एमाले) को नवौ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवशेनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिहरूलाई केन्द्रीय कमिटीमा राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउनेजस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनको दिशामा धकेलिदिए । वास्तवमा केपी ओली गुटको त्यही निर्णयबाट नेकपा (एमाले) को विभाजन सुरुभएको हो । ’
‘यसरी गुटवन्दीपूर्ण, निरङ्कुश, स्वेच्छाचारी र व्यक्तिवादी ढङ्गले गरेका सम्पूर्ण निर्णयहरू अवैधानिक भएको हुनाले तिनलाई सच्याएर पार्टीलाई २०७५ ज्येष्ठ २ गतेको अवस्थामा पु¥याउनका हाम्रो तर्फबाट निकै नै प्रयत्न गर्दा पनि ओली कुनै कुरा पनि सच्याउन तयार भएनन् र आफ्नो विखण्डकारी अडानमै रहिरहे’, नयाँ दल खोल्नु पर्ने बाध्यतालाई थप प्रष्ट पारिएको छ ।