• मंसिर १७ २०८१, सोमबार

केथी ज्युँदोछँदै पुनर्जन्म ! यसरी जुर्यो भौतिक र आध्यात्मिक आश्चर्य !

आश्विन ५ २०७८, मंगलवार

अमेरिकास्थित मेरिल्याण्डकी बासिन्दा केथी प्याटन ४५ मिनेट मरेर फेरि पनि ब्युझिइन् । यो पहिलो आश्चर्य भयो । यो आश्चर्य हिन्दु धर्मअनुसार मान्यताप्राप्त छ । ‘हुन्छ’ भन्ने विश्वास गरिन्छ ।

केथी ४५ मिनेटसम्म मरिरहँदा उनकी छोरीको शल्यक्रिया गरियो । शल्यक्रिया सफल भएपछि एक सुन्दर शिशु जन्मियो । तेस्रो पुस्ताको जन्मसँगै केथी पनि पुनः ब्युझिइन् ।

अहिले केथी र उनको तेस्रो पुस्ता शिशु एकसाथ आनन्दले बाँचिरहेका छन् ः एक प्राण दुई प्राणी, अर्थात् भिन्न भौतिक शरीरका रुपमा । पुनर्जन्ममा विश्वास नगर्ने विज्ञानले यो घटना केवल संयोगपूर्ण मात्र मान्दछ ।

तर पनि घटना क्रमको बेलिबिस्तार भने आफैमा अनौठो, संयोगपूर्ण, जन्म, पुनर्जन्म आदि जसरी जोडे पनि मिल्ने खालको छ । निकै रोचक, रोमाञ्चक, लौकिक र आलौकिक पनि !

घटनाक्रम यसरी सुरु हुन्छ । त्यस दिन केथी साथीहरुसँग रमाउँदै मजाले गल्फ खेलिरहेकी थिइन् । खेलको रमाइलो र आनन्द उनका लागि अद्वितीय र अविस्मरणीय बन्दै थियो । त्यति नै बेला मोबाइलको रिङ टोन जोडजोडले बज्न थाल्यो । उनले सोचिन केही इमर्जेन्सी कुरा आइपर्यो ।

दगुर्दै फोन रिसिभ गरिन् । पहिलो वाक्यमै उनकी छोरीलाई सुत्केरी व्यथा लागेको जानकारी पाइन् फोनमार्फत् । उनी विनाढिलाइ छोरीलाई भर्ना गरिएको ग्रेटर बाल्टिमोर मेडिकल सेन्टरमा पुगिन् । तर आश्चर्य ! अस्पताल पुग्ने बित्तिकै उनलाई हृदयाघात भयो र बेहोश भै ढलिन् ।

उनलाई तत्कालै आकस्मिक कक्षमा पुर्याइयो । डाक्टरहरुले उनलाई अक्सिजनको सिलिन्डर जोडेर क्षणभरमै कृत्रिम स्वासप्रस्वास दिन थाले । एकातिर उनको उपचार सुरु भयो, अर्कोतिर उनको छोरीको इमर्जेन्सी शल्यक्रिया ।

यता केथीको एक्कासी मुटुको धड्कन बन्द भयो । शरीर शिथिल र चीसो हुँदै गयो । रक्तप्रवाह हुन छाड्यो शरीरमा । मस्तिष्कमा अक्सिजन पनि शून्य भयो । डाक्टरहरुले ‘मेडिकल डेथ’ घोषणा गर्नुको विकल्प रुहेन । यो क्रम ४५ मिनेट रहिरह्यो ।

सोही समयमा उनकी छोरीको पेटको शल्यक्रिया गरी नयाँ शिशुलाई स्वागत गरियो । त्यही समयमै चमत्कार हुन गयो । झण्डै ४५ मिनेटको समयमा भिन्दाभिन्दै वार्डमा भएका यी फरक घटनामा भौतिक मेल र सहकार्य त थिएन, तर अध्यात्मिक मेल र सहकार्य भने रहेको विश्वास गरियो ।

यता ‘मेडिकल डेथ’ भएकी केथी ब्युँझिइन्, उता नयाँ शिशु जन्मियो । डाक्टहरु पनि के मानेमा आश्चर्यमा परे भने ४५ मिनेटसम्मको यति लामो समयसम्म अक्सिजन प्रवाहविना उनी कसरी ब्युँझन सफल भइन् ? थप अर्को आश्चर्य पनि यसैमा थियो कि उनी ब्युँझिंदा उनको मस्तिष्कमा कुनै पनि असर परेको थिएन । केथी निरन्तर जीवनकै प्रक्रियामा थिइन् ।

हिन्दु धर्मसंस्कार अनुसार मानिसले पुनर्जन्म लिन्छ । यो मान्यता हिन्दु धर्मअनुसार सांख्य दर्शनमा पर्न आउँछ । सांख्य दर्शनमा दुई कुराले मुख्य भूमिका निर्वाह गरिरहेका हुन्छन् ः प्रकृति र पुरुष । यो दर्शनअनुसार प्रकृति पदार्थलाई मानिन्छ र पुरुष चेतनालाई । यहाँ प्रकृतिलाई जड मानिन्छ भने चेतनालाई गति र रुपान्तरण ।

सांख्य दर्शनअनुसार प्रकृतिमा मानिसको जन्म ‘पुरुष’का कारण हुन्छ । यहाँ ‘पुरुष’ भनेको लोग्नेमानिस वा पुलिङ्ग भन्ने अर्थ लाग्दैन । ‘पुरुष’ भनेको ‘प्राण’ वा एक मानिस मरिसकेपछि त्यसमा भएको ‘जीव’ वा ‘चेतना’ अर्को नयाँ शरीरमा प्रवेश गर्ने सचेतन कुरा मानिन्छ । केथी प्याटनको जीवनमा प्रकृति र पुरुषका बीचमा यो आश्चर्यजनक मेल भएको देखिन्छ ।

(एजेन्सीको सहयोगमा)