काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा सत्तारूढ दलभित्रै सहमति बन्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको दुई महिना बित्दासमेत सरकारलाई पूर्णता दिन नसकेको भनेर चौतर्फी आलोचना खेप्दै आइरहेका बेला सत्तारूढमध्येको एकघटक जसपाले भने मन्त्रिपरिषद् विस्तारमा अझै ढिलाइ हुने संकेत गरेको छ ।
प्रधानमन्त्री देउवाले सोमबार संसद् भवनबाट बाहिरिँदै गर्दासमेत सरकार विस्तार छिट्टै हुने प्रतिक्रिया दिएका थिए । उनले सो विषयमा सत्ता गठबन्धन दलहरूसँग संवाद भइरहेको प्रतिक्रिया दिएका थिए ।
‘मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, गठबन्धन आबद्ध दलबीच संवाद हुँदैछ,’ प्रधानमन्त्री देउवाले सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरूसँग भने । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललेसमेत यसअघि ५ असोजभित्रै सरकारले पूर्णता पाउने बताएका थिए ।
तर, जसपाका अध्यक्ष यादवले भने प्रधानमन्त्री देउवाको आसयको विपरीत प्रतिक्रिया दिए । उनले सरकारले पूर्णता पाउन मन्त्रालयको टुंगो नै नलागेको र राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज नभएसम्म सरकारले पूर्णता नपाउने बताएका हुन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।