• मंसिर १२ २०८१, बुधबार

बैंकिङ कसुर मुद्दाका फरार थापा यसरी परे पक्राउ

आश्विन ४ २०७८, सोमबार

काठमाडौं । बैंकिङ कसुर मुद्दामा विभिन्न अदालतबाट कैद सजाय र जरिवाना हुने फैसला भएर तीनवर्षदेखि फरार रहेका एक व्यक्तिलाई नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको समूहले सोमबार पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं.८ का कृष्णबहादुर थापालाई विभिन्न अदालतले फैसला गरेका एक करोड पच्चीस लाख, सत्र लाख र पचहत्तर लाख जरिवाना साथै १७ दिन, १३ दिन र १ वर्ष कैद सजाए फैसला भएर अदालतले फैसला गरेका विभिन्न बिगो रकम दाखिला नगरी साथै कैद सजाए भुक्तान नगरी लुकिछिपी रहेको अबस्थामा पक्राउ गरेको सो महाशाखाले जनाएको छ ।

पक्राउ परेका अभियुक्त थापा

कैद सजाय भुक्तान नगरी र बिगो रकम दाखिला नगरी पर्सा जिल्ला वीरगञ्ज उप–महानगरपालिका वडा नम्बर १५ पूर्णिमा चोकमा लुकिछिपी बसेको अवस्थाबाट महानगरीय अपराध महाशाखाको समूहले जिल्ला प्रहरी कार्यालय पर्सा र बारासँग समन्वय गरेर निज थापालाई गत शनिबार बेलुका पाँचबजे पक्राउ गरेको बताइएको छ ।

निज थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौ जिल्ला अदालत, बबरमहल काठमाडौमा पठाइएको प्रहरीले बताएको छ ।
यस्ता छन् उनीविरुद्ध फैसला भएका बैंकिङ कसुर मुद्दाहरु:
प्रहरीले बताएअनुसार रविन्द्र थापाको जाहेरीले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट मिति २०७७/०८/२२ गतेको फैसलाले प्रतिवादी कृष्णबहादुर थापालाई बिगो रु १,२५,००,०००।– (एक करोड पच्चीस लाख) र १७ दिन कैद साथै वादी रविन्द्र थापाकै जाहेरीले बैकिङ कसुर मुद्दामा उच्च अदालत, पाटनको मिति २०७७/०८/२२ गतेको फैसलाले प्रतिवादी कृष्णबहादुर थापालाई बिगो रु ७५,००,०००।– (पचहत्तर लाख) जाहेरवालालाई भराई बिगोबमोजिम जरिवाना र १३ दिन कैद साथै वादी राजन श्रेष्ठ रहेको चेक अनादरसम्बन्धी मुद्दामा मिति २०७३/१०/०६ गतेको काठमाडौ जिल्ला अदालतको फैसला बमोजिम प्रतिवादीबाट भरी पाउने रकम रु १७,००,०००।– (सत्र लाख) र सोको कानुन बमोजिम हुने ब्याज समेतको बिगो दाखिला गर्नु पर्नेमा सो नगरी फरार रहेकाले मिति २०७५/०६/१९ गतेको काठमाडौं जिल्ला अदालतको आदेशले १ वर्ष कैद सजाय फैसला भई हाल फरार रहेका जिल्ला काठमाडौ बुढानिलकण्ठ न.पा. वडा नं.८ घर भई हाल जिल्ला बारा जितपुर सिमरा उप.म.न.पा. वडा नं. २ बस्ने  वर्ष ६७ का कृष्णबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय पर्सा तथा बारासँग समन्वय राखी यस महाशाखाबाट खटिगएको प्रहरी टोलीले मिति २०७८/०६/०२ गते १७ ः ०० बजेको समयमा जिल्ला पर्सा वीरगगन्ज उप.म.न.पा. वडा नं. १५ पूर्णिमा चोकबाट नियन्त्रणमा लिइएको थियो ।
पक्राउ पर्ने व्यक्ति:
१.नाम – कृष्णबहादुर थापा
उमेर -६७ वर्ष
ठेगाना – जिल्ला काठमाडौ बुढानिलकण्ठ न.पा.वडा नं. ८
हाल – जिल्ला बारा जितपुर सिमरा उप.म.न.पा. वडा नं. २