• फाल्गुन २४ २०८२, आईतवार

रुसमा पुटिनको पार्टीले पायो बहुमत

आश्विन ४ २०७८, सोमबार

मस्को । रुसमा भएको निर्वाचनमा युनाइटेड रसिया पार्टीले नै तल्लो सदन स्टेट डुमामा फेरि बहुमत ल्याउने देखिएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार तीन दिनसम्म भएको मतदानको ३३ प्रतिशत मतगणना सकिँदा राष्ट्रपति भ्लादमिर पुटिनको समर्थक उक्त दलले ४५ प्रतिशत मत ल्याएको छ । प्रतिष्पर्धी अर्को दल कम्युनिष्ट पार्टीले २२ प्रतिशत हाराहारी मत पाएको छ ।

यसपालि संसदमा सबैभन्दा ठूलो दल बने पनि युनाइटेड रसिया पार्टीले पाउने भोट भने अघिल्लो चुनावभन्दा घटेको छ । पाँच वर्षअघि भएको चुनावमा उक्त दलले ५४ प्रतिशत मत पाएको थियो ।

राष्ट्रपति पुटिनका आलोचकले भने चुनावमा निकै धाधँली भएको आरोप लगाएका छन् । निष्पक्ष चुनाव भएको भए युनाइटेड पार्टीले निकै थोरै मत पाउने उनीहरूको भनाइ छ ।

पुटिनका आलोचक एलेक्साई नाभाल्नीलाई जेल हालिएको, उनका समर्थकलाई चुनाव लड्न रोक लगाइएको, आलोचक मिडिया र गैरसरकारी संस्थाहरूलाई तारो बनाइएको उनीहरूले बताएका छन् ।
चुनावी परिणामले रूसको राजनीतिक परिदृश्यमा कुनै फरक भने ल्याउने देखिँदैन ।

पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि रूसी सत्ताको केन्द्रमा छन् । ६८ वर्षीय पुटिन पश्चिमा मुलुकसँग उभिन सकेको र राष्ट्रिय गौरवलाई बढाएको ठानेर उनलाई समर्थक गर्नेहरू पनि धेरै छन् ।

गत वर्ष संविधान संशोधन गरेर पुटिनलाई सन् २०३६ सम्म रूसी राष्ट्रपति बन्न बाटो खुला गरिएको छ । सन् २०२४ मा रूसमा राष्ट्रपतिको चुनाव हुँदै छ, उक्त चुनावमा उम्मेदवार बन्नेबारे पुटिनले अहिलेसम्म औपचारिक रूपमा केही बताएका छैनन् ।