• फाल्गुन २८ २०८२, बिहीबार

एमाले सुदूरपश्चिम इञ्चार्जको विवाद गहिरिँदै

आश्विन ३ २०७८, आईतवार

काठमाडौं । नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्वोच्चले बदरको फैसला गरेपछि ब्युँतिएका देशका दुई ठूला राजनीतिक पार्टी एमाले र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएका छन् । यी दुई पार्टी पुरानै अवस्थामा फर्किएपछि माओवादी शीर्ष नेता रामबहादुर थापा ‘बादल’, लेखराज भट्टलगायत केही नेता माओवादी केन्द्रमा नफर्किएर एमालेमै रहेका छन् ।

बादल र भट्ट लगायतका केही नेताहरू माओवादीमा नफर्केपछि एमाले अध्यक्ष केपी शर्मा ओली खुसी हुँदै बकस स्वरूप बादललाई बागमती र लेखराज भटट्टलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्ज नियुक्ति गरे । यो समयमा एमाले तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष ओलीको विरोधमा उत्रिएको थियो । उसले पार्टीको संरचना पूर्ववत् अवस्थामा फर्काउन ओलीलाई आग्रह गरेको थियो ।

एमाले नवौँ राष्ट्रिय महाधिवेशन २०७५ जेठ २ मा गठित सांगठानिक संरचना फर्काउनु पर्ने भन्दै विरोध गरिरहेको थियो । ठीक यही समयमा ओलीले पार्टीको संरचना फेरबदल गरे । र, उनले २०७७ फागुन २८ मा फेरबदल गरेको संरचनाअनुसार बागमती इञ्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर बादललाई जिम्मा दिए भने सुदूरपश्चिम इञ्चार्ज भीम रावललाई हटाएर लेखराज घट्टलाई बनाए ।

त्यसपछि एमाले अध्यक्ष ओली र तत्कालीन वरिष्ठ नेता नेपाल पक्षबीच पार्टी एकताका लागि भन्दै १० बुँदे सहमति गरे । उक्त सहमतिमा मुख्य त पार्टीको सांगठानिक संरचना २०७५ जेठ २ मा फर्किनु पर्ने सहमतिसमेत भयो । भीम रावल, अष्टलक्ष्मी शाक्य लगायतले १० बुँदे सहमतिका आधारमा पार्टी एकीकरण गर्तुपर्ने भन्दै एमालेमा फर्किए । तथापि माधवकुमार नेपाल लगायतका अधिकांश नेताहरूले १० बुँदे सहमति ओलीले कुनै हालतमा कार्यान्वयन नगर्ने भन्दै एमालेमा फर्किएनन् ।
बरु उनीहरूले माधवकुमार नेपालको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरिसकेका छन् । तथापि नेपालनिकट मानिएका नेताहरू मीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य उनको साथ छोडेर पुनः एमालेमै फर्किएका छन् । उनीहरू एमालेमा फर्किएलगत्तै केपी शर्मा ओलीलाई तुरुन्तै १० बुँदे सहमति कार्यान्वयन गर्नु पर्नेमा जोड दिए । तर, ओलीले एमाले पार्टीको संरचना २०७५ जेठ २ यान्त्रिक रूपमा नफर्किने अडान लिएका छन् ।

ओलीले १० बुँदे सहमति कार्यान्वयनका लागि अकमकाएपछि नेता नेपालको साथ छोडेका नेताहरू फसादमा परेका छन् । उनीहरूले यतिबेला नैतिक संकटको सामना गरिरहेका छन् । इञ्चार्जको विषयलाई लिएर भीम रावल ओलीप्रति निकै रुष्ट बनेका छन् भने अन्य नेताहरू सहमतिका बुँदाहरू कार्यान्वयन नहुनेमा सशंकित छन् ।

पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममा ओलीको पछिल्लो अभिव्यक्ति सुनेर उनीहरू चिन्तित बनेका छन् । ओलीले एमाले पार्टी २०७५ जेठ १० मा हुबहु नफर्किने र सहमतिका १० वटा बुँदा पनि कार्यान्वयन नहुने भन्ने अभिव्यक्ति दिएपछि उनीहरू सशंकित बनेका हुन् । यद्यपि बादलको हकमा भने केही समयलाई विवाद टुंगिएको छ । किनकि बागमती प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकी छन् भने उनको ठाउँमा अहिले बादललाई नै इञ्चार्ज तोकिएको छ ।

सुदूरपश्चिम इञ्चार्जको हकमा भने सतहमा आएको विवाद झनझन् गहिरिँदै गएको छ । दिनानुदिन यो विवाद बल्झिदै गएपछि अध्यक्ष ओलीले लेखराज भट्टलाई आफ्नै निवास बालकोट बोलाएर भट्ट नै उक्त प्रदेशको इञ्चार्ज भएको उद्घोष गरिसकेका छन् । । तर, रावलले सुदूरपश्चिमको इञ्चार्ज आफू नै भएको दाबी गर्दै आएका छन् । उनले यतिबेला सुदूरपश्चिम प्रदेशमा आफूनिकट नेताहरूसँग भेटवार्ता र छलफल अगाडि बढाउँदै गएको स्रोत बताउँछ ।

सुदूरपश्चिम पुगेर रावलले पटकपटक म पार्टीको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा छु, पार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरी कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन भनेका छन् त्यस्तै लेखराज भट्टले एमाले सुदूरपश्चिम इन्चार्ज आफू नै भएको दाबी गर्दै आएका छन् ।

अध्यक्ष ओलीले तोकेरै सुदूरपश्चिम इञ्चार्ज भट्ट भएको घोषणा गरेपछि रावल चिन्तित बनेका छन् । रावलले गोल मिडिया न्युजसँग संक्षिप्त संवाद गर्दै भने, ‘सुदूरपश्चिम इञ्चार्जका लागि पार्टीमा कुनै विवाद छैन । बरु पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउनु पर्ने र १० बुँदे कार्यान्वयन गर्नेमा संशय उत्पन्न नभएको होइन । तर, हामी पार्टीभित्र बसेर छलफल गर्छौँ र यो विषयलाई हामी पूर्णता दिन्छौँ । सञ्चार माध्यममा जसरी खबर सार्वजनिक भएका छन् । त्यो सत्य होइन ।’

‘एमाले सचिव ईश्वर पोख्रेलले पार्टी पूर्ववत् अवस्थामा फर्काउँन सकिदैन । सांगठानिक संरचना धेरै परिमार्जित र फेरबदल भएका छन् । पार्टीको नियम कानुनलाई पनि ध्यान दिनुपर्ने हुन्छ । रावलजीको समूहले भनेझैँ पार्टी जेठ २ मा फर्काउन र १० बुँदे कार्यान्वयन गर्नमा कटिन छ ।’