काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आइतबार(आज ) बसेको स्थायी कमिटीको बैठकमा असोज १५, १६ र १७ गते गर्ने भनिएको विधान महाधिवेशनका लागि तीन वटा दस्तावेजमाथि छलफल भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पछिल्ला राजनीतिक तथा समग्र मूल्यांकनसहितको पार्टीको कार्यदिशा अर्थात् राजनीतिक प्रतिवेदनसम्बन्धी प्रस्ताव र नवौं महाधिवेशनबाट अहिलेको अवस्थासम्म आइपुग्दाको संगठनात्मक उपलब्धिहरु, कमी–कमजोरीहरु एवम् जनवर्गीय संगठनका कामहरु व्यवस्थापन गर्ने सम्बन्धमा संगठनात्मक प्रस्ताव सम्बन्धमा छलफल भएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टर्राले बताए । एमालेको यी तीन वटै प्रस्तावहरुमाथि स्थायी कमिटी सदस्यहरुबाट सुझाव राख्ने क्रम पनि सुरु भएको उनले बताए ।
आजको बैठकमा स्थायी कमिटी सदस्यहरु अमृत बोहोरा, केशव बडाल,घनश्याम भुषाल,युवराज ज्ञवाली लगायतका नेताहरुले आ–आफ्नो विचार राखेका थिए । एमाले स्थायी कमिटी बैठक भोलि सोमबार दिउँसो १ बजे पुनः बस्ने जनाइएको छ।
सोमबारको बैठकमा स्थायी कमिटीका थप सदस्यहरुले दस्तावेजहरुमाथि सुझाव राख्ने उनले बताए । दस्तावेजहरुमाथि आएका आवश्यक सुझावसहितको प्रतिवेदन एमालेको असोज ८ र ९ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा पेश हुनेछ । एमाले स्थायी कमिटी बैठक आज दिउँसो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिस्ठानमा बसेको थियाे ।