काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संविधान २०७२ ले नागरिकको सामाजिक तथा राजनीतिक अधिकार सुनिश्चित गरेको बताएका छन् । समानताको पक्षलाई पनि यसले अङ्गिकार गरेको उनले दावी गरे ।
एमालेद्वारा आइतबार तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सबै नागरिकलाई संविधानले समेटिने प्रयास गरेपनि थप विषयलाई सम्बोधन गर्दै जानुपर्ने बताए । मौलिक हकजस्ता कुराहरु अत्यन्तै उत्कृष्ट व्यवस्थामा सम्बोधन गरिएको पनि उनको भनाई छ ।
सिंहदरवारको अधिकार गाउँ गाउँमा पु¥याउने लक्ष्य राखेको भएपनि त्यसको समुचित कार्यान्वयन हुन बाँकी रहेको उनले बताए । यसअघि सिंहदरवारबाट शासन हुन्थ्यो अहिले वडा र पालिकातहबाट भइरहेको छ, त्यही हो सिंहदरवार गाउँ गाउँमा पु¥याउने भनिएको उनले भने । सिंहदरवार उठाएर गाउँमा लग्ने भनिएको होइन, अधिकार गाउँमा लग्ने व्यवस्था गरिएको हो अध्यक्ष ओलीले भने, “जिम्मेवार व्यक्तिको कमजोरी होला तर संविधानको होइन ।”
केन्द्रीकृत शासनलाई विकेन्द्रित गरेर संघीय प्रणालीको तय गरिएको चर्चा गर्दै अध्यक्ष ओलीले भने, “जनताको प्रतिस्पर्धात्मक वहुदलीय व्यवस्था अङ्गिकार गरेका छौं, मानवअधिकार तथा समानताको व्यवस्था गरेका छौं ।” धारा १६ देखि ४६ सम्म ३१ वटा धाराहरु मौलिक हकको रुपमा व्यवस्था गरिएको र मानवअधिकारको सुनिश्चित्ता गरिएको बताए ।
स्वतन्त्र न्यायपालिका, शक्तिपृथकीकरणका मान्यतालाई पनि संविधानले सम्बोधन गरेको बताउनुहुँदै अध्यक्ष ओलीले संविधानले दुस्प्रभाव, अल्झिनु कसैलाई भनेको छैन, कोही अल्झिन्छ भने उसको गल्ती हो उनले भने, “हामीले प्राप्त गरेको ठूलो उपलब्धी हो नयाँ संविधान, त्यसको मसिनो गरी कार्यान्वयन गरिनुपर्छ ।” नेपालको संविधान नेपालको राजनीतिक आन्दोलनको कोशेढुंगा हो, जसले नयाँ युगको सुरुवत गरेको छ उनले भने । संम्भावनाको ढोका पनि यो संविधानले खोलेको उनले दावी गरे ।
जनताको सपना पूरा गर्ने माध्यम संविधान नै भएकाले यसको सही कार्यान्वयन गर्दै जानुपर्ने उनले बताए । नेपाली समाजलाई स्थायित्व र समृद्धिको दिशातिर मार्गदर्शन पनि संविधानले गरेको उनले बताए । नयाँ संविधान ऐतिहासिक दस्तावेज भएको बताउदै उनले जनताको आन्दोलनको उपलब्धीको दस्तावेजको रुपमा पनि संविधानको ब्याख्या गरे ।
एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, प्रवक्ता प्रदीप ज्ञवालीले संविधानको रक्षा, कार्यान्वयन र विकासमा पार्टीले योगदान गरिरहेको बताए । संविधानको रक्षा गरी त्यसमै टेकेर मुलुकको समृद्धि कायम गर्न सकिने आधार तय भएको चर्चा गर्दै सरकारले संविधान दिवसको अवसरमा वितरण गरेको मान पदवीको बारेमा पनि टिप्पणी गर्नुभयो ।