• मंसिर १३ २०८१, बिहीबार

निपा भाइरस कस्लाई र कसरी लाग्छ ? बच्न के–के गर्ने ?

भाद्र ३० २०७८, बुधबार

काठमाडौँ । कोरोना भाइरसको त्रास रहिरहेको यो समयमा अर्को एउटा भाइरसको त्रास थपिएको छ । निपा नामको भाइरस छिमेकी देश भारतका केही स्थानहरुमा देखिइसकेको भनेर सावधानी अपनाउन सरकारले सर्वसाधारणमा आग्रह गरेको छ । अहिलेसम्म नेपालमा कसैमा नदेखिएपनि भारतको केरला राज्यमा सो भाइरसका कारण एक १२ वर्षका बालकको ज्यान गएपछि सरकारले सावाधानी अपनाउन सर्वसाधारण जनतालाई सजग गराएको हो । सो भाइरस भारतको सोही राज्यमा सन् २०१८ मा पनि देखिएर १७ जनाको ज्यान गएको थियो ।

के हो निपा भाइरस ?

एनआईभी भनिने निपा भाइरसको सङ्क्रमण तुलनात्मक रूपमा नयाँ किसिमको रोग हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो भाइरस पशुबाट मानिसमा सर्छ । यो भाइरस मानिसमा सरेपछि यसले मानिसमा गम्भीर प्रकृतिको रोग लगाउँछ । मन्त्रालयका अनुसार निपा भाइरसले मस्तिष्कमा सङ्क्रमण गराउँछ । सुरुमा यो भाइरसले श्वासप्रश्वास सम्बन्धी समस्या गराउँछ ।

यो भाइरस पशुपक्षीबाट मानिसमा सर्ने भएकाले यसलाई ‘जुनोटिक’ रोगको वर्गमा राखिएको छ । यो भाइरस पशुबाट पशु, पशुबाट मानिस र मानिसबाट मानिसमा सर्न सक्छ ।

कस्ता हुन्छन् यसका लक्षण ?

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार निपा भाइरसका लक्षणमा ज्वरो आउने, टाउको दुख्ने र मानिसहरू छिट्टै बेहोस जस्तो गराउने र एकदमै छिटो गम्भीर अवस्थामा भाइरसले पुर्याउन सक्ने हुन्छन् । त्यस बाहेक यो भाइरस लागेपछि रिंगटा लाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिल बढ्ने पनि प्रमुख लक्षणमध्ये रहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

कसरी जोगिने यो भाइरसबाट ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो भाइरस संक्रमणको कुनै निश्चित उपचार छैन । अहिलेसम्म यसको कुनै खोप पनि बनेको छैन । त्यसकारण यो भाइरसबाट जोगिन वा बच्नका लागि बिरामी भएका पशुपञ्छी नजिक नजाने गर्नुका साथै पशुपन्छीसँगै काम गर्ने व्यक्तिहरु बढी होसियार रहनुपर्ने हुन्छ । माछा, मासु, तरकारी र फलफूल राम्रोसँग पकाएर तथा पखालेर खाने गर्ने । सरसफाईमा ध्यान दिने । गाइवस्तुका गोठहरु सफा राख्ने । मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने । पानी उमाएर पिउने । बेलाबेला साबुन पानीले राम्ररी हात धुने लगायत गर्नुपर्छ । भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने गर्नाले यसको रोकथाम र संक्रमण हुनबाट बच्न सकिने बताइएको छ ।