काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई अमेरिका बोलाएका छन् ।
उनीहरुलाई ह्वाइट हाउसमा स्वागत गरिनेछ । राष्ट्रपति कार्यालयकी प्रवक्ता जेन साकीले सोमबार जारी गरेको विज्ञप्ति अनुसार आउँदो सेप्टेम्बर २४ मा बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका सुगा योसिहिदे र भारतका नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा भेट्न लागेका हुन् ।
अमेरिका, अष्ट्रेलिया, जापान र भारतले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षासहित अन्य विषयमा सहकार्य गर्न क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डायलग बनाएका छन् । साउथ चाइना सी, दक्षिण पूर्वी एसियालगायत यो क्षेत्रमा चीनको प्रभाव रोक्न क्वाडले काम गर्छ ।
‘क्वाडका नेताहरूलाई ह्वाइट हाउसमा स्वागत गर्नुले बाइडेन–ह्यारिस प्रशासनले एसिया प्रशान्त क्षेत्रलाई दिएको प्राथमिकता दर्शाउँछ, साथै २१औं शताब्दीका चुनौतीलाई नयाँ बहुपक्षीयताका माध्यमबाट सामना गर्न लागेको पनि देखाउँछ,’ प्रवक्ता साकीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘क्वाडका नेताहरूले हाम्रो सम्बन्धलाई अझ गहिरो बनाउने, कोभिड१९ नियन्त्रण, जलवायु परिवर्तन, नयाँ प्रविधि र साइबर स्पेशमा सहकार्य र खुला र स्वतन्त्र एसिया प्रशान्त क्षेत्र बनाउने विषयमा केन्द्रित भएर छलफल गर्ने छन् ।’
क्वाडका नेताहरू पहिलो पटक भौतिक रूपमा भेट्न लागेका हुन् । यसअघि गत मार्चमा क्वाडको भर्चुअल सम्मेलन भएको थियो ।