• मंसिर १२ २०८१, बुधबार

उत्तर कोरियाले गर्यो रणनीतिक महत्वको मिसाइल परिक्षण

भाद्र २८ २०७८, सोमबार

काठमाडौं । अमेरिकासितको लडाईंका कारण चर्चामा रहेको सानो मुलुक उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले शनिबार र आइतबार दुई वटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी गरेका छन् ।

परीक्षण गरिएका ती मिसाइलले १५ सय किलोमिटरको दूरी तय गर्न सक्छन् । उत्तर कोरियाले परीक्षण गरिएका ती मिसाइललाई ‘निकै महत्व भएका रणनीतिक हतियार’ का रूपमा व्याख्या गरेको छ ।

गत जनवरीमा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले सपथ लिएका बेला पनि उत्तर क्रुज कोरियाले मिसाइल परीक्षण गरेको थियो ।

उत्तर कोरियाको परमाणु कार्यक्रम र ब्यालेस्टिक मिसाइलका कारण अन्तराष्ट्रिय प्रतिबन्धहरू लगाइएका छन् । केही दिनअघिमात्रै उत्तर कोरियाले मुलुक स्थापना भएको ७३औं वर्ष पुगेको उपलक्ष्यमा प्योङयाङमा विशाल सैनिक परेड गरेको थियो ।

बुधबार राति भएको उक्त परेडमा उत्तर कोरियाली नेता किम जोङ उन पनि सहभागी भएका थिए ।