• बैशाख ९ २०८२, मंगलवार

अफगानिस्तानको तालिबान सरकारलाई चीनले गर्यो सहयोगको घोषणा

भाद्र २४ २०७८, बिहीबार

काठमाडौं । चीनले अफगानिस्तानका लागि सहयोगको घोषणा गरेको छ । सत्ता कब्जा गरेको तालिबानले अन्तरिम सरकार घोषणा गरेको अर्को दिन चीनले अफगानिस्तानलाई मानवीय सहायता र कोरोनाभाइरस विरूद्धको सहयोग दिने घोषणा गरेको हो ।

बुधबार अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीच भर्चुअल छलफल भएको थियो । सो छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई ३ करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नसमेतको सहयोग गर्ने घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

विदेश मन्त्री वाङले अफगानिस्तानलाई कोरोना महामारीविरूद्ध लड्न अरू स्वास्थ्य सामग्रीसहित ३० लाख डोज भ्याक्सिन पनि दिने बताएका छन् ।

अफगानिस्तानका छिमेकी देशहरू पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकस्तान, तुर्कमेनिस्तान र चीनका विदेश मन्त्रीबीचको छलफल पाकिस्तानले आयोजना गरेको थियो । गत अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा अन्तराष्ट्रिय सहायता के हुने हो भन्ने अन्योल भएको छ ।

अमेरिकालगायत पश्चिमा देशहरूले तालिबान सरकारलाई सहायता गर्न उसले महिला अधिकार र प्रजातान्त्रिक मूल्य, मान्यतालाई पछ्याउनु पर्ने र अफगान भूमिलाई आतंकवादी समूहको आश्रयस्थल बनाउन नहुने बताएका छन् ।

तालिबानहरूले अन्तरिम सरकारमा महिलालाई समावेश नगरेको र अधिकार माग्दै प्रदर्शन गरिरहेका महिलामाथि दमन गरिरहेकाले पश्चिमा मुलुकले अब अफगानिस्तानमा कसरी सहायता दिन्छन् भन्ने एकिन भइसकेको छैन । उता, संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा छिट्टै खाद्यान्न संकट हुने चेतावनी दिएको छ ।