• फाल्गुन २४ २०८२, आईतवार

काबुलमा आइतबारसम्म अर्को हमला हुनसक्ने बाइडेनको चेतावनी

भाद्र १३ २०७८, आईतवार

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको राजधानी काबुलमा अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।

उनले सैनिक कमान्डरहरूले आइतबारसम्ममा नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको बताए । स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ ।

बेलायतले उद्धार कार्य बन्द गरिसक्दा अमेरिकाले भने काबुलबाट उद्धारलाई जारी राखेको छ । बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका थिए । इस्लामिक स्टेटको स्थानीय सङ्गठन इस्लामिक स्टेट इन खोरासान प्रान्तले उक्त हमलाको जिम्मेवारी लिएको छ ।

यसको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो । हमलामा आईएस–के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ । मारिने दुई जनामा एकजना योजनाकार र एकजना सहयोगी भएको बताइएको छ ।

तर, उनीहरू नै काबुलको विमानस्थलमा भएको हमलामा प्रत्यक्ष रुपमा संलग्न थिए भन्ने चाहिँ स्पष्ट पारिएको छैन ।

‘यो अन्तिम आक्रमण होइन । हामी उक्त विभत्स आक्रमणमा संलग्नहरूको खोजी कार्यलाई जारी राखेर उनीहरूलाई मूल्य चुकाउन बाध्य पार्ने छौँ,’ बाइडेनले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । आईएस–के अफगानिस्तानमा रहेका जिहादी सशस्त्र समूहमध्ये सबैभन्दा चरमपन्थी र हिंस्रक मानिन्छ ।

तालिबानले अमेरिकासँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको उसको आरोप छ । यता, तालिबानले भने अमेरिकाको ड्रोन हमलाको आलोचना गरेको छ । कुनै पनि आक्रमण गर्दा आफूसँग सल्लाह हुनुपर्ने तालिबानको भनाइ रहेको छ ।