नेपाली राजनीतिक क्षितिज दलाल पुँजीवादको सबैभन्दा ठूलो महलका रुपमा रहेको नेकपा एमाले दोस्रो पटक नेपाली धर्तीमा ढलेको छ । यो महल २०५४ साल फाल्गुन २१ गते पहिलो पटक ढलेको थियो । फेरि यो महल दोस्रो पटक २०७८ भदौ १ गते ढलेको छ ।
यो महल पहिलो पटक ढल्दा त्यसबाट बाहिर निस्कन सफल भएकाहरुले नेकपा (माले) नामको नयाँ पार्टी गठन गरेका थिए, भने यस पाला यो महल ढल्दा त्यसबाट बाहिर निस्कन सफल भएकाहरुले नेकपा (एकीकृत समाजवादी) नाम दिएका छन् । केही राजनीतिक विश्लेषकहरुले एमालेरुपी नेपाली धर्तीमा उब्जिएको दलाल पुँजीवादको सबैभन्दा ठूलो महल ढलेपछि नेपाली नागरिकहरु धेरै चिन्तित भएको र यसको ढलाइले नेपाली राजनीतिमा ठूलो दूरगामी असर पार्न सक्छ भनेर विश्लेषण गर्न थालेका छन् ।
तर यो विश्लेषण गलत छ, किनभने यो नेपाली धर्तीमा बलिया जरा गाडेर खडा भएको नेपालको सबैभन्दा ठूलो दलाल पुँजीवादको कालो तथा महाभ्रष्टहरु बसेर नेपाली जनताको अरबौ सम्पत्तिमाथि लुटपाट मच्चाउँदै आएका, नेपालका नदी–नालाहरु भारतलाई दिने महाभ्रष्ट, अपराधी तथा विदेशी दलाल र राष्ट्र बेच्ने देशद्रोहीहरु बस्ने एमालेरुपी महल नेपाली धर्तीमा ढल्दा नेपाली नागरिक चिन्तित हुनुपर्ने कुनै कारण छैन । उनीहरु ढल्दा जनताले बरु खुशियाली मनाउनु पर्छ ।
मदनकुमार भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनालहुँदै केपी ओलीसम्म आइपुग्दा नेकपा (एमाले) नाम दिइएको पार्टी र त्यसका नेताहरुले देश र जनताका लागि कतिसम्मको अपराध गरे, देश र जनतालाई कहाँसम्मको धोका दिंदै र गद्धारी गर्दै आए, यो सानो लेखमा सबै हिसाब किताब गरेर साध्य नै छैन् । यसका बारेमा नेपाली जनता नै काफी जानिफकार छन् ।
विश्व सर्वहारा वर्गका नेता तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेता कमरेड माओले भन्नुभएको छ, ‘सही विचार छ, सबैथोक छ, विचार छैन भने केही छैन ।’ कमरेड माओले भन्नुभए झैं माले–एमालेहुँदै एमालेले नेपाली क्रान्तिको तत्कालीन मार्ग निर्देशन सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओविचारधारा छोड्यो र मदनकुमार भण्डारीले अगाडि सारेको ‘बहुलवाद’ आधारित पुँजीवादी संसदीय विचारलाई आफ्नो बनायो । उसले सिद्धान्तको रुपमा मान्दै आएको ‘जनताको बहुदलीय जनवाद’ संसदीय व्यवस्थाको दार्शनिक आधार हो । यसकै आधारमा एमालेले पार्टीलाई संसदीय भाषामा ढाल्दै आयो । उसले संसदीय व्यवस्थालाई आफ्नो कार्यदिशा बनायो ।
०५१ सालको मध्यावधि चुनावदेखि एमालेलाई पार्टी र उसका नेता, कार्यकर्ताहरुलाई संसदीय व्यवस्थामा छिरायो र पुरै भ्रष्टीकरणमा होम्यो । एमालेले नै कम्युनिस्ट पार्टी कै नाम र झण्डामुनि बसेर पहिलो पटक पजेरो र प्राडो संस्कृति भित्र्याएको हो । उसले नै पार्टी भित्र र राज्य भित्र महल संस्कृति भित्र्यायो ।
यतिमात्र होइन, एमालेले आफूलाई संसदीय व्यवस्थाको विकृति र विसंगतिको आहालमा डुबाई सकेपछि गाउँपालिका स्तरका, नगरपालिका स्तरका, जिविस स्तरका र संसद स्तरका आफ्ना निर्वाचित नेता, कार्यकर्ताहरुलाई कसरी पैसा कमाउने ? कसरी राष्ट्रिय सम्पत्तिमाथि, जनताको सम्पत्तिमाथि ब्रह्मलुट र लखनउ लुट मच्चाउने ? भन्ने स्कुलिङ गर्दै आयो र केन्द्रदेखि स्थानीय स्तरका आफ्ना नेता– कार्यकर्ताहरुलाई कसरी भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने भन्ने स्कुलिङ गर्दै आयो । जसका कारण २०५१ सालदेखि यता २०७८ सालसम्म २७ वर्षसम्म दर्जनौं पटक सरकारमा गयो ।
कहिले आफ्नै पार्टीको बहुमत सरकार त, कहिले राप्रपा, काँग्रेस, माओवादीहरुसित मिलेर केन्द्रीय सरकार सञ्चालन गर्दै आयो भने पछिल्लो अवधिमा प्रदेश स्तरमा र त्यो भन्दा पहिले करीब २५ वर्षको अवधिमा स्थानीय निकायहरुमा कहुमतका आधारमा शासन सञ्चालन गर्दै आयो ।
यी सबै अवधिमा एमालेले आफ्ना नेता, कार्यकर्ताहरुलाई भ्रष्टीकरणमा रुपान्तरण गराउँदै लग्यो । उसले देशलाई बेचेर हुन्छ कि ? मुलुकको सम्पतिमाथि ब्रह्मलुट, लखनउ लुट गरेर हुन्छ ? जसरी पैसा कमाऊ, चुनाव जित, खाऊ, कमाऊ, लुट, मोजमस्ति गर । अर्थात् देशलाई र चुनाव जितेर आऊ, सत्ता चलाऊ भन्ने स्कुलिङ गर्दै आयो, जसका कारण २७ वर्षको अवधिका चरम भ्रष्टाचार गर्ने, कर्मचारीहरुलाई साथमा लिएर राष्ट्रको सम्पत्ति दिनहाडै लुट्ने, नेपाली जनताको सम्पत्ति लुट्ने एकजना पनि आफ्ना नेता– कार्यकर्ताहरुलाई कार्वाही गरेको एउटा पनि प्रमाण छैन ।
राष्ट्रको सम्पत्ति लुटेर, जनताको सम्पत्ति लुटेर एमालेले आफ्ना नेता–कार्यकर्ताहरुलाई अरबपति, खरबपति बनाउँदै आएको छ र अरबपति खरबपति हुन नसकेका आफ्ना नेता कार्यकर्ताहरुलई कुनै पनि स्तरको चुनावमा टिकट नै दिंदैन । यस प्रकारका महाभ्रष्ट, अनैतिक, देश बेचुवा अपराधीहरु बस्ने गरेको एमालेरुपी दलाल पुँजीपतिहरुको महल ढल्दाखोरी जनता चिन्तित हुनुपर्ने कुनै कारण छैतन, बरु खुशी हुनुपर्छ ।
किनकि एमालेले नेपाली कम्युनिस्ट आन्दोलन संसदीय व्यवस्था र संसदीय संस्कृति भित्र्याएका कारण कम्युनिस्टका नाममा सिंगो नेपाली कम्युनिस्ट आन्दोलनलाई प्रदूषित तुल्याउँदै आएको छ । यस्तै यस्तै प्रक्रियाबाट एमालेको विघटन हुन र नेपाली कम्युनिस्ट आन्दोलनबाट यसको विलोपीकरण हुन जरुरी छ । यो पार्टी नेपाली धर्तीमा जति दिनसम्म खुट्टा टेकिरहन्छ, उति नै देश र जनतालाई घाटा र नोक्सानी पुग्दछ ।
केपी ओलीको ३ वर्षे कार्यकालमा राष्ट्रिय स्तरमा ६ अर्ब र प्रदेश तथा स्थानीय स्तरमा २० अर्ब भ्रष्टाचार गरेको प्रमाण हालै सार्वजनिक गरिएको महालेखा परिक्षकको रिपोर्टले पुष्टि गरिदिएको छ ।
यो सरकारी तथ्यांक बाहेक एमालेले २७ वर्षको अवधिमा खरबौंको राष्ट्रिय सम्पत्तिमाथि भ्रष्टाचार गरिसकेको छ ।
यसले माओवादी आन्दोलनबाट आएको प्रचण्ड समुह नेता, कार्यकर्ताहरुलाई महाभ्रष्ट बन्न सिकाएको छ । त्यही सिकेर त्यसकै लाभ गरेर नै प्रचण्ड समुह एमाले भित्र छिरेको थियो । प्रचण्डको सिफारिसमा गृहमन्त्री बनेका रामबहादुर थापा गृहमन्त्री रहेका बखत करोडौं भ्रष्टाचार गरेको तथ्यांक महालेखा परिक्षकको प्रतिवेदनद्वारा सार्वजनिक गरिएको छ ।
यिनै तमाम कारण नेपाली समाजमा कम्युनिस्टको नाममा ऐजेरु बनिरहेको एमालेले दलाल पुँजीवादको ठूलो र कालो महल ढल्दाखेरी नेपाली जनता चिन्तित हुने कुनै कारण छैन । किनकि जसरी बादल नफाटी प्रकृतिमा घाम लाग्दैन ।
त्यस्तै नेपाली कम्युनिस्ट आन्दोलनरुपी क्रान्तिकारी आन्दोलनमा रुपान्तरण गर्नका निम्ति ढिलो चाँडो एमालेको विलोपीकरण हुन अनिवार्य छ ।
(लेखक वरिष्ठ मार्क्सवादी लेखक एवं राजनीतिक विश्लेषक हुन् )