• मंसिर १२ २०८१, बुधबार

बीमा समिति र बीमा संस्थानमाथी कारवाही गर्न महालेखाको निर्देशन

भाद्र ८ २०७८, मंगलवार

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिलाई क्षेत्रमा देखिएको बेथिति रोक्न नसकेको भन्दै प्रश्न गरेको छ । सरकार समेतको लगानी रहेका दुई कम्पनीहरुमा मनपरी धेरै देखिएको भन्दै महालेखाले प्रश्न उठाएको हो ।

राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले लामो समयदेखि सामान्य नीति नियम समेत पालना नगरेको भन्दै यी संस्थाका जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न भनेको छ ।

कोषले जिम्मेवार पदाधिकारी भनेर संस्थानका प्रमुख प्रशासक कवि पाठक र कम्पनीका प्रमुख कार्यकारी अधिकृत डिल्लीराज अर्यालको नाम उल्लेख गरेको छ । यी दुवै कम्पनीले ९ वर्षदेखि लेखापरीक्षण समेत गराएका छैनन् ।

मुलुकमा रहेका कुल ३९ बीमा कम्पनीमध्येको दुई कम्पनीले बीमा सम्बन्धी नीति नियमको पालना गर्नु पर्दैन भनेजस्तो भएको छ ।

हरेक वर्ष लेखापरीक्षण गराउनु पर्ने र सो लेखा परीक्षण साधारणसभाबाट पारित गराउनु पर्ने भए पनि यी दुबै कम्पनीहरुले ९ वर्षदेखि न साधारण सभा गराएका छन् नत अडिट नै गराएका छन् । यो कारणले संस्थानको वित्तीय विवरण बीमा समितिमा पुग्न सकेको छैन । महालेखाले हरेक वर्ष यी दुई कम्पनीको मनपरीका विषयमा प्रश्न उठाउँदै आएको छ ।

५८औँ वार्षिक प्रतिवेदनमा पनि यहाँको कमजोरी देखाउँदै बीमा समितिले जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ ।

बीमा संस्थानको बेथितिबारे महालेखा परीक्षकले हरेक वर्ष प्रश्न उठाउँदै कारबाहीका लागि तालुकवाला मन्त्रालयका सचिवलाई पत्रसमेत पठाउने गरेको छ । महालेखाको ५७औं वार्षिक प्रतिवेदनमा लेखापरीक्षक नियुक्तिको लागि परामर्श दिइए पनि संस्थानले २०६९र०७० देखि हालसम्मको लेखापरीक्षण नगराएको उल्लेख छ ।

प्रतिवेदनमा संस्थानका जिम्मेवार पदाधिकारीलाई लेखापरीक्षण ऐन, २०७५ को दफा २५ बमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई लेखिपठाइएको पनि जनाइएको छ । तर, अर्थ मन्त्रालयले हालसम्म कुनै कारबाही गरेको छैन ।