• कार्तिक १ २०८३, शनिबार

स्वीकृति नै नलिइ इन्टरनेट प्याकेज सञ्चालन गर्ने ६ कम्पनीलाई ५० हजार जरिवाना

आश्विन ३० २०८३, शुक्रबार

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिबिना इन्टरनेट सेवाका प्याकेज तथा शुल्क सञ्चालन गरेको भन्दै ६ वटा इन्टरनेट सेवा प्रदायकलाई जनही ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुमतिपत्रका सर्तविपरीत काम गरेको पाइएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम जरिवाना गर्ने निर्णय गरिएको हो।

प्राधिकरणले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, आई. जोन प्रालि, चित्रवन युनिक नेट प्रालि, स्काइ ब्रोडब्यान्ड प्रालि, सजिलो नेट प्रालि र कनेक्ट नेपाल नेटवर्क प्रालिलाई जरिवाना गर्ने निर्णय गरेको छ। प्राधिकरणले स्वीकृतिबिना सञ्चालन गरिएका इन्टरनेट सेवाका प्याकेज तथा शुल्क तत्काल बन्द गरी त्यसबारे जानकारी गराउन सम्बन्धित सेवा प्रदायकलाई निर्देशनसमेत दिएको छ।

त्यस्तै, स्वीकृतिबिना सञ्चालन गरिएका प्याकेजका कारण कुनै ग्राहकलाई हानि–नोक्सानी भएको भए ग्राहकले माग गरेको अवस्थामा त्यसको बिगो वा क्षतिपूर्तिसमेत भराइदिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।

प्राधिकरणले अनुमतिपत्र प्राप्त सम्पूर्ण दूरसञ्चार सेवा प्रदायकलाई इन्टरनेट सेवाका प्याकेज तथा शुल्क लागू गर्नुअघि अनिवार्य रूपमा स्वीकृति लिन निर्देशन दिएको छ। स्वीकृत शुल्क सार्वजनिक सूचनामार्फत प्रकाशित गर्ने व्यवस्था मिलाउनसमेत प्राधिकरणले भनेको छ।