• मंसिर ११ २०८१, मंगलवार

संक्रमणको हुरी : न मास्क, न भौतिक दुरी !

भाद्र ५ २०७८, शनिबार

पछिल्लो समयमा नेपालमा पनि कोभिड–१९ को प्रभाव अप्रत्याशित रुपमा बढेको देखिन्छ । सरकारले यस अघि गरेको बन्दाबन्दी (लक डाउन) मा खुकुलो गरेसँगै सल्बलाएको जनजीवन र बढ्दो राजनीतिक घटनाक्रमसँगै दैनिकजसो देखिएका सभा, समारोह, जुलुस र आमसभाका कारण पनि कोभिडको संख्यामा वृद्धि भएको हो । खुल्ला सीमाका कारण मित्रराष्ट्र भारतसँग आऊ जाऊको कारण त मुख्य हो नै ।
यो आलेख तयार पार्दासम्म हामीकहाँ कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । अस्ति शनिवार थप १९ जना कोरोना संक्रमितको मृत्यु भएबाट कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगिसकेको छ ।

आजसम्म यो तथ्यांकमा संख्या थप भैसकेको छ । हालसम्म कोरोना संक्रमितको संख्या ७ लाख १२ हजारभन्दा बढी छ । यो ग्राफ क्रमशः उकालो लाग्दो अवस्थामा छ ।
चीनको वुहानबाट सुरु भएको कोभिड–१९ को संक्रमण नेपालमा पहिलोपटक २०७६ माघ १० (जनवरी २४) मा पुष्टि भएको थियो । कोरोनाले पहिलोपटक २०७७ जेठ ३ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
कोरोनाबाट एकै दिन गत जेठ ५ गते २ सय ४६ जनाको मृत्यु भएको थियो । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

दोस्रो लहरमा झनै जोखिम :

विज्ञका अनुसार अहिले कोरोनाको दोस्रो लहर चलिरहेको छ । कोरोनाको पहिलो लहर २०७७ चैत १ सम्ममा ३ हजार १४ जनाले ज्यान गुमाएका थिए । त्यसयता ६ हजार ९ सय ८० जनाको संक्रमणकै कारण मृत्यु भएको छ ।

यो नितान्त दुखदायी अवस्था हो । दोस्रो लहरसम्म आइपुग्दा अक्सिजनको हाहाकार, आईसीयु बेडको अभाव, अस्पतालले भर्ना लिन गरेको आनाकानी र खर्चिलो उपचारका कारणले पनि दोस्रो लहरमा धेरै जनाको ज्यान गुम्न गएको हो । पहिलो लहरबाट ३८ जना बालबालिकाको मृत्यु भएको छ भने दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ ।

कोरोनाबाट ज्यान गुमाउनेमा ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरु बढी रहेका छन् । अघिल्लो सातासम्मको तथ्यांक हेर्दा ६० माथिका ज्यान गुमाउने ५ हजार ३८७ रहेका छन् । ९ वर्ष सम्मका ४५ जना, १० देखि १९ वर्षका ५० जना, २० देखि २९ उमेर समूहका ३०४ जना, ३० देखि ३९ का ८२८ जना, ४० देखि ४९ का १४३७ जना, ५० देखि ५९ का १९६१ जना र मिश्रित उमेर समूहका ७ जना रहेका छन् ।

यो तथ्यांकले कोरोनाले सबै उमेर समूहमा आक्रमण गर्छ भन्ने कुराको पुष्टि गर्छ । यसको अर्थ उच्च सतर्कता सबैका लागि अनिवार्य छ भन्ने सन्देश यो तथ्यांकको विश्लेषण गर्दा थाहा हुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको दर १.५ प्रतिशत रहेको छ । यो दर सार्कस्थित भुटान, भारत, माल्दिभ्स र श्रीलंकाको भन्दा बढी हो । भारतमा मृत्युदर १.३, भुटानमा ०.१, माल्दिभ्समा ०.३, श्रीलंकामा र पाकिस्तानमा १.४ रहेको छ ।

विज्ञहरु छिटै कोरोनाको तेस्रो लहर आउन सक्ने र यसले सबै उमेर समूहका मानिसलाई प्रभाव पार्ने बताइसकेका छन् । यसका लागि बेलैमा सतर्कता अपनाउन र सुरक्षाका उपायहरु अवलम्बन गर्न जरुरी छ ।

तर बढ्दो लापरबाही र खुल्ला आवत जावतका कारण कोरोनाको जोखिम दिनानुदिन उच्च रहेको तथ्य आमरुपमा प्रष्ट छ । मानिसहरु न मास्क, न भौतिक दुरी, न त नियमित साबुन पानीको प्रयोग नै गर्छन् ।
एक किसिमले भन्ने हो भने सतर्कताशून्य अवस्था देखिन्छ । कोरोना संक्रमण बढ्नका लागि यो उपयुक्त अवस्था हो, जसलाई हामी आफैले मलजल गरिराखेका छौ ।

आजको आवश्यकता कोरोनाका कारणले हुने असमायिक मृत्युबाट जोगिनु र जोगाउनु हो । यसका लागि सजिलो उपाय कोरोना संक्रमण नै हुन नदिनु हो । संक्रमण हुन नदिनका लागि सरकारले अघि सारेका सुरक्षाका उपायहरु भीडभाड कम गर्ने, सबैले उच्च गुणस्तरको मास्क लगाउने, साबुन पानीले बेला बेलामा हात धुने र भौतिक तथा सामाजिक दूरी बढाउने नै हो ।

यसबाहेक सरकारले तोकेका जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्ने नै हो । जति धेरै जोखिम त्यति बढी सतर्कता आजको आवश्यकता हो ।

मास्क लगाऊ अभियान :

कोरोनाबाट जोगिन मास्क लगाउन जरुरी छ । चिकित्सक गुणस्तरीय माष्कमा जोड दिन्छन् । सुरक्षाकर्र्मी यात्रुलाई बीच बाटोमा नै रोकेर मास्क लगाए, नलगाएको चेकजाँच गरी नलगाउनेलाई लगाउन प्रोत्साहित गर्छन् ।

तर पनि आममानिस अझै मास्कप्रति सजग छैनन् । कतिपयले लगाउँदैनन्, लगाएकाले पनि चिउँडोमा झारेर राख्ने गर्छन् । मानौ यो उनीहरुले सरकारका लागि लगाइदिएको हो जस्तो ठान्छन् ।
मैले मास्क लगाएर सरकारलाई सजिलो किन पार्ने भन्ने गलत मनोविज्ञान हाबी छ । मैले लगाएको मास्क मेरै सुरक्षाका लागि हो भन्ने चेत आम मानिसमा अझै आएको छैन । आएको हुँदो हो त प्रहरीले समाएर मास लगाउनुस् भन्नुपर्ने अवस्था नै आउने थिएन ।

आममानिसको उक्त प्रवृत्तिविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको साउन २३ देखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गर्दैछ । ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो ।

मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ । यो कदम निकै सराहनीय छ । अत्यन्त सरल, कम खर्चिलो र सबैले प्रयोग गर्न सक्ने माष्क कोभिड सर्नबाट रोक्ने उपयुक्त विधि हो ।
यसको प्रयोग गर्न कुनै पनि हालतमा चुक्नुहुँदैन भन्ने सन्देश मास्क लगाऊ अभियानले दिने विश्वास लिन सकिन्छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउने उद्देश्यका साथ यो अभियान सुरु गर्न लागिएको होे ।

कम्तीमा पनि अब आममानिस यो अभियानपश्चात् बिना मास्क हिँडडुल गर्ने छैनन् भन्ने अपेक्षा गर्न सकिन्छ ।

महामारी नियन्त्रणमा खोप जतिकै मास्क, सेनिटाइजर, भौतिक दूरी कायमजस्ता नियमको पालना गर्न पनि आवश्यक छ । यसका लागि जनचेतना जगाउनु पर्दछ ।
मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउँडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएको छ । आशा गरौं यो अभियानपछि यसमा सुधार आउनेछ ।

परीक्षा स्थगित तर खोप खै ? :

यतिबेला बजारमा भिडभाड बढ्दो छ । भौतिक दुरी कायम गरिएको छैन । यो बेला कोरोनाको तेस्रो लहर आउने संभावना औंल्याउँदै विज्ञहरुले सतर्क रहन सुझाएका छन् ।

आउँदो साउन ३१ देखि कक्षा १२ को परीक्षा हुने गरी यस अघि नै कार्यतालिका प्रकाशित भैसकेको थियो । उक्त अवस्थाको ख्याल गर्दै स्वास्थ मन्त्रालयको आह्रानमा कक्षा १२सहित सबै परीक्षा तत्काल नगर्न सीसीएमसी (कोभिड–१९ संकट व्यवस्थापन केन्द्र) र शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयले गरेको सिफारिसअनुसार सरकारले उक्त परीक्षा हाललाई स्थगित गरेको छ ।

यो अवस्था भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सकिने अवस्था नै होइन । यसै पनि आम विद्यार्थी र तिनका अभिभावकहरु परीक्षाभन्दा पनि कोभिड महामारी सर्ने डरले त्रासमा थिए । उनीहरुको मनोविज्ञान पढाइमा थिएन ।

मृत्युदर १.५ प्रतिशत रहेको र संक्रमितको दर पनि बढिरहेकाले परीक्षा सञ्चालन नगर्ने सरकारी निर्णय उपयुक्त छ । ‘जीउ रहे घिउ’ खाउँला भनेझैं यो महामारीबाट जोगिन सके परीक्षा दिदै गरौला भन्ने भावना सबैमा थियो । सरकारले बेलैमा परीक्षा स्थगित गरेर राम्रो काम गरेको छ ।

तर अब कोभिडविरुद्ध खोप विद्यार्थीलाई पनि दिन जरुरी छ । विद्यालय बन्द, पठन पाठन बन्द, परीक्षा स्थगित गरेर मात्र सरकारको दायित्व पुरा हुँदैन । आम विद्यार्थीलाई खोपको व्यवस्था गरेर पठन पाठन सुचार गर्नुपर्छ ।

स्थगित परीक्षाहरु सञ्चालन गर्नुपर्छ । यस कार्यमा सरकार तीब्र गतिमा लाग्न जरुरी छ । आमनागरिकले आज पनि खोप पाएका छैनन् । खोपमा पार्टीगत राजनीति हाबी छ । उच्च जाखिमलाई न्युन गर्न आम नागरिकले मात्र होइन, सरकारले पनि निष्पक्ष रुपमा आफ्नो कर्तव्य पालना गर्न सक्नुपर्छ ।
तर सरकार यो मामिलामा चुकेको छ । कतै खोप लुकाइएको छ, कतै खोप केन्द्रमा अनावश्यक भिडभाडका कारण संक्रमण बढने खतरा देखिएको छ । खोप पाउनलाई प्राथमिकताक्रम तोकिएको छ । कोरोनाले पहिला म यो हैसियतको व्यक्तिमा प्रवेश गर्छु भन्दैन ।

जोखिमको मात्रा सबैमा बराबर छ । तर सुरक्षाका उपायमा सरकारले पालो तोकेको छ । भयावह रोगका लागि सरकारका नजरमा आम नागरिक बराबर मानिनुपर्छ । उनीहरुलाई मञ्चमा आशन गराउने शैलीमा मर्यादाक्रम तोकेर खोप दिइनु हुँदैन ।

आम मानिसलाई विना भेदभाव खोपको सर्वसुलभ तरिकाले व्यवस्थापन गर्न सरकार लाग्नुपर्छ । अन्यथा नागरिकलाई मात्र गाली गरेर सरकारको दायित्व पूरा हुँदैन ।