काठमाडौं । अफगानिस्तानकोमा राष्ट्रिय झण्डाको समर्थनमा उत्रिएका प्रदर्शनकारीमाथि तालिबानले गोली चलाएको छ । घटना जलालबादको हो ।
बुधबार जलालबादमा कार्यालयहरुमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो तर, प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानका लडाकूले गोली चलाएको स्थानीय समाचार एजेन्सी पाज्झोक अफगान न्युजले जनाएको छ ।
तालिबानका लडाकूले आन्दोलनको कभरेज दिइरहेका पत्रकारलाई पनि कुटपिट गरेका थिए । सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा सयभन्दा धेरै मानिसहरु राष्ट्रिय झण्डा बोकेर प्रदर्शनमा उत्रिएको देख्न सकिन्छ भने पृष्ठभूमिमा गोली चलिरहेको आवाज सुन्न सकिन्छ ।
उक्त घटनामा कसैलाई गोली लागेको नलागेको भन्ने खुल्न सकेको छैन । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरुले आफूहरुको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए ।
सामाजिक सञ्जालमा देखिएको भिडियोमा महिलाहरुले आफ्नो अधिकार, सामाजिक सुरक्षा, काम गर्ने, शिक्षा तथा राजनीतिक सहभागिताको अधिकार माग गरिरहेको देख्न सकिन्छ ।
अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलो पटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो । अहिले कैयौं अफगानी नागरिक मुलुक छाडेर भागिसकेका छन् भने धेरै मानिसहरु बाहिरिने प्रतीक्षामा विमानस्थलमा छन् । (एजेन्सीहरुको सहयोगमा ।)