• आश्विन १३ २०८१, आईतवार

सफल बन्न सोचमा सकारात्मकता चाहिन्छ

भाद्र २ २०७८, बुधबार

मानव जीवन यात्रा हो । यो यात्रा कस्तो गर्ने, कुन दिशामा गर्ने, कति लामो र अग्लो ठाउँसम्म गर्ने । कति उचाई, अग्लाई र महत्वपूर्ण बनाउने भन्नेचाहिँ आफूले निर्धारण गर्नुपर्छ । जीवन यात्रा हो भन्ने धेरैलाई थाहा नहुँदो रहेछ ।

थाहा भएको भए यात्राको ठिक दिशामा गएको छ, छैन भनेर थाहा पाउने थिए, मैले पनि धेरैपछि मात्र यो यात्राको महत्व थाहा पाएँ । मानिसले दुःख पाउनुमा जीवनलाई नबुझ्दा त्यसका अङ्गहरुको बारे ज्ञान हुन्न । ती विविध अङ्गले के खोजेको छ, के खाँचो छ थाहा हुन्न र त्यसले गर्दा कतिपय प्रयास व्यर्थमा खेर जान्छ । प्रयास जारी रहने तर उपलब्धि नहुने हुन्छ । उपलब्धि बिहीन कसरतले गर्दा मान्छे दुःखी हुन्छ ।

आफ्नो काम र पेशाबाट सफल बन्नः

सोचाइमा सधैँ सकारात्मकता चाहिन्छ ।
म सक्छु भन्ने भाव नित्य मनमा राख्नुपर्छ।
स्तर अनुसार सही र असल सपना देख्नुपर्छ ।
घाँटी अनुसार हाड निल्छु भन्ने मात्र होइन, हाड अनुसार घाँटी बनाउँछु भन्ने आँट चाहिन्छ ।
सपनालाई पटक पटक साराको अगाडी घोषणा गर्नुपर्छ । त्यसबाट जीवनमा उर्जा थपिन थाल्छ ।
काम अरुले गरिदिने हैन, आफुले आफैलाई तयार पार्नुपर्छ ।
यो संसारलाई हेर्ने होइन, विगत र वर्तमानलाई हेरेर तुलना गर्नुपर्छ ।
अरुसँग हैन, राम्रो नराम्रो जे भएपनि आफैसँग तुलना गर्नुपर्छ ।
सफल व्यक्तिका जीवनी संगालिएका उर्जाशिल पुस्तक पढ्ने गर्नुपर्छ ।
तालिमहरुमा भाग लिने र असल मानिसको संगत गर्ने ।
पहिला त म दुःखी र चिन्तित नै नहुँ भन्छु । तर चिन्ता, तनाव भइहाले त्यसबाट मुक्त हुनको लागि म यी उपायहरू अपनाउने गर्छु ।
ध्यानमा बस्छु र मनलाई शान्त बनाउँछु । दुःख आफूले आफैँलाई बिचलित बनाउने भाव हो, यसलाई नियन्त्रण गर्ने प्रयास गर्छु ।
योग साधना र ध्यान साधना नै मख्य हो र म त्यही गर्छु ।
थानापती–९, नुवाकोट ।