• फाल्गुन २४ २०८२, आईतवार

उज्बेकिस्तानले अफगानी सैनिक हेलिकोप्टर खसाल्यो

भाद्र १ २०७८, मंगलवार

काठमाडौं । अफगानिस्तानी सैनिक चढेको एक विमानलाई उज्बेकिस्तानले खसालिदिएको छ । सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उज्बेकिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

उक्त विमानमा कति जना चढेका थिए र कोही जीवित छन कि छैनन् भन्ने खुलेको छैन । यद्यपि समाचार संस्था एएफपीले सेनाको पोशाक लगाएका दुई जना अस्पतालमा भर्ना भएको एक चिकित्सकलाई उद्धृत गर्दै लेखेको छ ।

बितेको ४८ घण्टाको अवधिमा ७५० जना अफगान सैनिक भागेर उज्बेकिस्तान पुगेका समाचारहरु सार्वजनिक भएका छन् । ६०० जना अफगान सैनिक विमानमार्फत उज्बेकिस्तान पुगेको बीबीसीले जनाएको छ । उज्बेकिस्तान प्रशासनका अनुसार दक्षिणी शहर तेरमेजमा ४६ सैन्य विमान अवतरण गरेका छन् ।

यी विमानलाई स्कर्टिङ गरेको एक अफगान विमान र उज्बेक लडाकु विमान आपसमा ठोक्किएको दाबी उज्बेकिस्तानको प्रोसिक्युटर जनरलको कार्यालयले जनाएको छ । दुबै विमानका पाइलट भने जोगिएका छन् ।

अफगानिस्तानको राजधानी काबुललाई तालिवानले नियन्त्रणमा लिएसँगै त्यहाँ अस्थिरता बढेको छ । काबुल छाड्न चाहनेहरुको विमानस्थलमा भिड्भाड छ ।

अमेरिकी एयरफोर्सको एक विमानसँगसँगै रनवेमा मानिसहरु दौडिरहेको र सो विमान उडेपछि केही मानिसहरु खसेको भिडियो सार्वजनिक भएको छ ।

विमानस्थलको स्थिति नियन्त्रणमा लिन अमेरिकी सैनिकले गोली चलाउँदा नौ जनाको मृत्यु भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । साठीभन्दा बढी देशले संयुक्त विज्ञप्ति जारी गरेर अफगानिस्तानबाहिर जान चाहनेहरुलाई जान दिन तालिवानलाई आह्वान गरेका छन् ।

विद्रोही तालिवान लडाकुहरु अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेलगत्तै राष्ट्रपति असरफ घानीले गत आइतबार देश छाडेका थिए । उनी कहाँ छन् भन्ने खुलेको छैन । पूरै अफगानिस्तानमा नियन्त्रण जमाएपछि तालिवानले नयाँ सरकार गठनको प्रक्रिया सुरु गरेको छ ।