• मंसिर १२ २०८१, बुधबार

रुस र चीनमा प्रतिक्रान्ति : कारण विश्व दृष्टिकोणमा समस्या

श्रावण २८ २०७८, बिहीबार

“विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै थोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ त्यो बेला सबै चीज प्राप्त हुन्छ, यदि अनुयायीहरु छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । यदि बन्दुकहरु छैनन् भने पनि ती पनि प्राप्त हुन सक्छन्, यदि राजनीतिक सत्ता छैन भने त्यो पनि प्राप्त हुन सक्छ, यदि यसको कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्छन् । कार्यदिशा भनेको जालको डोरी हो जब यो तानिन्छ पुरै जाल खुल्दछ ।” -माओ त्सेतुङ

रुस, चीन, भियतनाम लगायतका विश्वका समाजवादी देशहरूमा प्रतिक्रान्ति भयो । किन भयो ती समाजवादी देशहरूमा प्रतिक्रान्ति ? यसका मुख्य मुख्य कारणहरु के हुन् ? आदि प्रश्नहरु उठिरहन्छन् । यस विषयमा केही कुरा प्रष्ट हुन जरुरी हुन्छ ।
यस परिघटनाले विश्व कम्युनिस्ट आन्दोलन र विश्व समाजवादी शिविरमाथि गम्भीर प्रकारको धक्का लाग्यो । त्यस यता आज विश्वमा एउटा पनि देशमा वैज्ञानिक समाजवादी देश सञ्चालनमा छैन । ती समाजवादी देशहरूमा भएको प्रतिक्रान्तिले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुर्यायो भने विश्व जनसमुदायलाई पनि निरास मात्र तुल्याएको होइन, त्यसपछि विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक स्थितिमा पुर्याइदियो । आजसम्म त्यो स्थिति कायमै छ ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र ती देशहरूमा भएको प्रतिक्रान्ति किन भयो ? कसरी भयो ? कसको कम्जोरीले भयो ? भन्ने बारेमा प्रशस्त मात्रामा समिक्षा नभएको होइन । तर पनि यस लेखमा मैले ती भुपू समाजवादी देशहरूमा भएका प्रतिक्रान्तिहरुका विषयमा मुख्य समस्या कहाँ थियो र त्यसलाई सम्बन्धित देशका कम्युनिस्ट पार्टीहरु र आम जनताले समयमै कमीकमजोरीहरु पत्ता लगाााउने र रोक्नै पर्ने काम किन हुन सकेन र त्यसको मूल जरो कुन थियो र त्यसलाई समयमै फ्याक्न किन पहल भएन ? ती देशहरूमा कसरी प्रतिक्रान्तिहरु भए त ? भन्ने विषयमा ध्यान केन्द्रित गर्ने कोसिस गर्ने छु ।

(१) रुस, चीन, भियतनाम लगायतका देशहरूमा भएका गौरवपूर्ण क्रान्तिहरु :

सामन्तवादीहरु तथा पुँजीवादीहरुको मुटुमा ढ्याङ्ग्रो ठटाउँदै रुसमा जारशाहीको सत्ता, चीनमा च्याङ्काइसेको तानाशाही सत्ता, भियतनाम र कोरियामा सामन्तवादी राज्यसत्ता, कम्बोडिया तथा क्युबाका प्रतिक्रियावादी सत्ताहरुलाई ध्वस्त पार्दै ती देशहरूमा क्रान्ति सम्पन्न गरिए र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरियो ।

सन १९१७ अक्टोबर २५ (रुसी नयाँ पात्रो अनुसार ७ नोभेम्बर) महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न गरियो । सन १९४५ मा उत्तरी भियतनाम र उत्तर कोरियामा जनवादी क्रान्तिहरु सम्पन्न गरियो । त्यस्तै सन १९४९ अक्टोबर १ का दिन महान् चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न गरियो । सन १९५९ मा क्युवामा पनि क्रान्ति सम्पन्न भयो ।

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा सन १८४८ मा कार्ल मार्क्स (१८१८–१८८३) र फ्रेडरिक एंगेल्सद्धारा कम्युनिस्ट घोषणापत्र जारी गरी मार्क्सवाद र मार्क्सवादी दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको प्रतिपादन गरे पश्चात् जब विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सैद्धाान्तिक हतियार मार्क्सवादी र मार्क्सवादी दर्शन प्राप्त गर्यो, सन १९६४ मा माक्र्सकै नेतृत्वमा पहिलो कम्युनिस्ट अन्तराष्ट्रिय बन्यो, त्यसपछि सन १८७१ मा सम्पन्न भएको पेरिस कम्युनको निर्माण र ७२ दिन पछि भएको प्रतिक्रान्ति पछिको पहिलो ऐतिहासिक एवं युगान्तकारी परिघटना थियो सन १९१७ रुसी अक्टोबर समाजवादी क्रान्ति । महान् रुसी अक्टोबर समाजवादी क्रान्ति एक ऐतिहासिक र युगान्तकारी परिघटना थियो । मक्किसकेको र साम्राज्यवादमा पतन भइसकेको पुँजीवादी राज्य व्यवस्थालाई अन्त्य गरेर मानवजातिकै इतिहासमा पहिलोपटक सर्वहारा वर्गको अधिनायकत्व स्थापना गरेको थियो ।

त्यसको सकारात्मक प्रभाव संसार भर पर्न गयो । त्यसपछि संसारका विभिन्न देशहरूमा कम्युनिस्ट पार्टीहरु स्थापना गरिए । पूर्वी युरोपका २० औं देशहरूमा सोभियत मोडलको समाजवाद लागु गरियो । चीन, कोरिया, भियतनाम आदि देशहरूमा क्रान्ति सम्पन्न भए पछि विश्व जनसंख्याको ठूलो हिस्सा कम्युनिस्ट पार्टी अर्थात् समाजवादी शासनको झण्डामुनी गोलबन्द हुन पुग्यो । तर रुस, चीन, भियतनाम लगायतका देशहरूमा प्रतिक्रान्ति भए पछि आज संसारका कुनै पनि मुलुकमा वैज्ञानिक समाजवादी राज्यव्यवस्था छैनन् ।

सन १९५६ देखि सोभियत मोडलको समाजवाद भित्र आधुनिक संशोधनवादीहरुबाट प्रतिक्रान्ति भई पुँजीवादको स्थापना हुन पुग्यो भने सन १९७६ सेप्टेम्बर ९ मा कमरेड माओको निधन पश्चात् चीनमा प्रतिक्रान्ति भएर पुँजीवादको स्थापना भयो । त्यसपछि अन्य समाजवादी मुलुकहरुमा पनि प्रतिक्रान्ति भए र समाजवाद अस्तायो । यसले अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई ठूलो धक्का पुर्यायो ।

(२) विश्वदृष्टिकोणमा रुपान्तरण नहुँदा भयो प्रतिक्रान्ति :

किन र कसरी भयो रुस, चीन लगायतका समाजवादी देशहरूमा प्रतिक्रान्ति ? त्यसको मुख्य कारण के हो ? त्यस प्रतिक्रान्तिलाई किन रोक्न सकेनन् ती देशका कम्युनिस्ट पार्टीहरु र जनताले ?  अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र सधैं उठ्ने गरेका यी प्रश्नहरु ज्यादै महत्वका रहेका छन् । यसका भित्री र बाहिरी कारणहरु के के होलान् ? यो सधैंजसो उठ्ने प्रश्न हो ।

मार्क्सवादी द्वन्द्ववादको नियम अनुसार हरेक वस्तुको उत्थान र पतनको मुख्य कारण आन्तरिक नै मुख्य हुन्छ र बाहिरी कारण उसको सहायक कारण हुन्छ । रुस, चीन लगायतका देशहरूमा प्रतिक्रान्ति हुनुका प्रमुख कारण आन्तरिक कारणहरु रहेका छन् र बाहिरी कारणहरुले सहयोगीको भूमिका खेलेका थिए । अर्थात् रुस, चीन समेतका समाजवादी देशहरूमा प्रतिक्रान्ति हुनुमा ती देशहरूका कम्युनिस्ट पार्टीहरुको मुख्य नेतृत्वमा रहेकाहरुमा नेताहरुबाट भएको आन्तरिक वैचारिक, सैद्धान्तिक, दार्शनिक तथा विचारगत कम्जोरीका कारणहरु नै प्रमुख रहेका छन् ।

रुसमा सन १९५३ मा कमरेड स्टालिनको मृत्यु भयो । त्यसपछि निकिता ख्रुश्चोव राज्यप्रमुख भएर आए । सन १९५६ को फेब्रुअरीमा अखिल संघीय कम्युनिस्ट पार्टी ( बोल्सेविक ) को बीसौं महाधिवेशनको आयोजना गरिएको थियो । उक्त महाधिवेशन सम्पन्न हुँदैगर्दा तत्कालीन राज्यप्रमुख निकिता ख्रुश्चोवद्वारा फेब्रुअरी २४-२५ तारिखको मध्यरातमा कमरेड स्टालिनको विरुद्धमा एक विश्व चर्चित सेक्रेट रिपोर्ट (गोप्य प्रतिवेदन) पेस गर्दै पुँजीवादी (संशोधनवादी) कार्यक्रम पेस गरेका थिए । र ख्रुश्चोवबाटै आधुनिक संशोधनवादको सूत्रपात गरियो । उनले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्बन गर्दै तथा वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गरियो ।

निकिता खुश्चोव, लिओनिद ब्रेजनेभ हुँदै मिखाइल गोर्भाचोवसम्म पुगेर सन् १९९० मा सोभियत मोडलको समाजवाद विधिवत रुपमा पतन भयो ।
निकिता ख्रुश्चोवलाई आधुनिक संशोधनवादका पिता भनिन्छ । उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र आधुनिक संशोधनवादको विजारोपन गरेका थिए । त्यसले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अपुरणीय क्षति पुर्यायो । ख्रुश्चोवी आधुनिक संशोधनवादका विरुद्ध कमरेड माओले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन भित्र महान् बहस सञ्चालन गर्नु भयो ।

रुसमा प्रतिक्रान्ति हुनुमा रसियन कम्युनिस्ट पार्टी (बोल्सेविक) भित्रको मुख्य नेतृत्व विश्व दृष्टिकोणमा रुपान्तरण नहुनु नै प्रमुख कारण बन्न पुग्यो । बोल्सेविक पार्टीको केन्द्रीय नेतृत्वमा विश्व दृष्टिकोणमा रुपान्तरण नहुनु, पार्टीको मार्गदर्शन सिद्धान्त मार्श्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तलाई परित्याग गर्दै जानु प्रमुख रहेका थिए ।

सन १९२४ मा लेनिनको मृत्यु पछि पार्टी सञ्चालन र सोभियत समाजवादी व्यवस्था सञ्चालनको जिम्मा कमरेड स्टालिनको काँधमा आयो । उहाँकै पालामा सन १९३९ देखि १९४५ सम्म दोस्रो विश्वयुद्ध चल्यो । त्यसबखत रुसमा राष्ट्रियताको सवाल मुख्य बन्न गयो ।
दोस्रो, रुसको समयमा रुसमाथि जर्मनको हिटलरी आक्रमण मुख्य बन्यो । हिटलरी साम्राज्यवादका विरुद्ध लड्नका स्टालिनले सन १९४३ मा तेस्रो अन्तर्राष्ट्रियलाई विघटन गरेर अमेरिका समेतलाई संलग्न गरेर संयुक्त मोर्चा निर्माण गर्नु भयो । यी कार्यमा लाग्नु परेको कारणले पार्टी भित्रको वैचारिक काम गौण बन्दै गयो । पार्टी स्कुलिङ समाप्त हुन गयो, जसले गर्दा पार्टी भित्रको वैचारिक स्तर भुत्ते बन्न पुग्यो ।
सन १९५३ मा मृत्यु भयो । त्यस पश्चात पार्टी र राज्यको प्रमुख बन्न पुगेको निकिता ख्रुश्चोवबाट सन १९५६ फेब्रुअरी २४–२५ मा पुगेर रुसमा संशोधनवादको विजारोपन गरियो ।

यसरी पार्टी भित्र वैचारिक धरातल भुत्ते हुँदै गएको मौका छोपेर पार्टीको मुख्य नेतृत्व र राज्यको नेतृत्वमा पुगेको ख्रुश्चोव उदाउने र मौलाउने मौका पायो । अर्को कुरा रुसमा जनतालाई क्रान्तिकारी रुपान्तरण गर्ने काममा पनि पहिले पार्टीले ध्यान पुर्याउन सकेन । पार्टीले जनतालाई माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्त र मान्यताहरुप्रति स्कुलिङ गर्ने, जागरुक गराई राख्ने काम भएन । जसले गर्दा रुसी समाजवादमाथि ख्रुश्चोवी संशोधनवादीहरुले भीषण हमला गरिरहँदासम्म पनि जनता चुपचाप रहन गए । विचार बिनाका जनता चुपचाप रहनु स्वाभाविक बन्न गयो ।

यसरी पार्टीको नेतृत्व पंक्तिमा विश्व दृष्टिकोणमा रुपान्तरण नहुनु नै महान अक्टोबर क्रान्तिबाट निर्माण गरिएको समाजवाद, लेनिन– स्टालिनहरुले अगाडि बढाएको रुसी मोडलको समाजवाद गल्र्यामगुर्लम्म ढल्न पुग्यो । त्यस्तै कमरेड माओको नेतृत्वमा सन १९४९ अक्टोबर १ मा सम्पन्न महान् चिनियाँ नयाँ जनवादी क्रान्तिद्धारा निर्माण भएको महान् चीनको समाजवाद पनि सन १९७६ सेप्टेम्बर ९ का दिन कमरेड माओको मृत्यु भएको ठिक एक पछि अर्थात् सन १९७६ अक्टोबर ६ का दिन ग्याङ अफ फोरका ४ जना नेताहरु च्याङ्ग चुन चियाओ, वाङ्ग हुंग वेन, याओ वेन–युवान र चियाङ चिंगलाई गिरफ्तार गरी जेलमा कोचेर संशोधनवादी देङ समूहले चिनियाँ समाजवादमाथि भीषण हमला गरेर प्रतिक्रान्ति गर्यो र चीनमा पुँजीवादको स्थापना गर्यो ।

चीनमा पनि सन १९५६ मा चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको आठौं महाधिवेशनमा ख्रुश्चोवका इमानदार चेलाहरु ल्यू शाओ चि र देङ श्याओ पिङ ‘बिरालो कालो हुनु र सेतो हुनुले फरक पार्दैन मुसा मारे भो’ भन्दै पुँजीवादी कार्यदिशा घुसाए पछि प्रतिक्रान्तिको विजारोपण गरियो ।
चिनियाँ कम्युनिस्ट पार्टीको मुख्य नेतृत्व र समाजवाद भित्र यसरी घुस्न पुगेका ख्रुश्चोवका असली चेलाहरु ल्यू शाओ चि, देङ श्याओ पिङहरुको जन्म हुनुको पछाडि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व भित्र विश्व दृष्टिकोणमा रुपान्तरण हुन नसकेकै कारण पार्टी भित्र वर्ग उत्थान हुन पुग्यो र त्यसले चीनमा प्रतिक्रान्ति बनाई छाड्यो ।

चिनियाँ कम्युनिस्ट पार्टी भित्र क्रान्ति सम्पन्न भएको छोटै अवधिमा वर्ग उत्थान हुनु र त्यसले चिनियाँ समाजवादमाथि प्रतिक्रान्ति गर्न सफल हुनुमा केन्द्रीय नेतृत्व विश्व दृष्टिकोणमा रुपान्तरण हुन नसक्नु जसरी मुख्य कारण बन्न पुग्यो । त्यसको पछाडिको अर्को मुख्य कारण के हो भने क्रान्ति पश्चात पार्टीको सम्पूर्ण ध्यान मुलुकको नयाँ निर्माणमा लाग्नु, मुलुकको हर क्षेत्रमा जनवादीकरणको अभियानमा लाग्नु, जसले गर्दा पार्टी काम र पार्टी भित्रको वैचारिक कार्यलाई कम महत्व दिनु, पार्टी भित्र पार्टी स्कुलिङको कामलाई स्थगन गर्नु, मुख्यतः पार्टीले वैचारिक कामलाई गौण विषय बनाउने र राज्यको कामलाई बढी महत्व दिने जुन काम भयो, त्यसले कमरेड माओको आमने सामने उभिएर हाकाहाकी प्रतिक्रान्तिकारीहरुलाई प्रतिक्रान्तिको कार्य गर्न सफल मात्र भएनन् बरु हुर्कने र मौलाउने मौका पनि पाए ।

त्यस परिस्थितिमा कमरेड माओले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयम चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनस्थापना रोक्नका लागि सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर जारी राख्ने सिद्धान्त प्रतिपादन गरी सन १९६६ देखि १९७६ सम्म सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो ।

यता नेपालमा पनि २०२८ सालमा विष्फोट भएको ऐतिहासिक झापा विद्रोहबाट अगाडि बढेर माले–एमाले बन्ने क्रममा वर्ग उत्थान हुन पुग्यो र एमालेको मुख्य नेतृत्व विश्व दृष्टिकोणमा रुपान्तरण हुन नसकेकै कारण एमाले दक्षिणपन्थी संशोधनवादी बाटो हुँदै प्रतिक्रियावादमा पतन मात्र भएन घोर प्रतिक्रियावादी सरकार सञ्चालन गर्नसम्म पुग्यो । त्यस्तै २०५२ साल फागुन १ गतेदेखि शुरु भएको जनयुद्धको नेतृत्व गरेर आएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को मुख्य नेतृत्व पनि विश्व दृष्टिकोणमा रुपान्तरण हुन नसके कै कारण र मालेमावादका आधारभूत सिद्धान्त र मान्यताहरुलाई परित्याग गरी नवसंशोधनवादको बाटोहुँदै विजातीय तत्वमा विलय मात्र भएन घोर प्रतिक्रियावादी सरकारमा समेत सामेल हुन पुग्यो । र महान नेपाली क्रान्तिप्रति गद्धारी गर्न पुग्यो । र, नेपाली जनतालाई गम्भीर प्रकारको धोका दिन पुग्यो । अतः नेपाली क्रान्तिप्रति प्रतिक्रान्ति हुनुको प्रमुख कारण क्रान्तिकारी आन्दोलनको नेतृत्व गरेको मुख्य नेतृत्व विश्व दृष्टिकोणमा रुपान्तरण हुन नसक्नु नै हो ।

रुस, चीन, भियतनाम लगायतका देशहरूका कम्युनिस्ट पार्टीको मुख्य नेतृत्व क्रान्तिपछि मुलुकलाई समाजवादीकरण गर्ने प्रक्रियामा, कम्युनिस्ट पार्टीले सरकार सञ्चालन गरिरहे कै अवस्थामा प्रतिक्रान्ति भएको इतिहास छ भने नेपालमा त क्रान्ति सम्पन्न नहुँदै मुख्य नेतृत्वबाट प्रतिक्रान्तिका परिघटनाहरु घट्न पुगेका छन्, जसले नेपाली क्रान्तिलाई गम्भीर प्रकारको क्षति पुर्याउँदै आएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलन भित्र रहेका कम्युनिस्ट पार्टीको नेतृत्वतहमा पनि विश्व दृष्टिकोणमा रुपान्तरणका समस्याहरु ज्यूउका त्यूउ छन् । त्यसैले क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र क्रान्तिकारी कम्युनिस्टहरुले वैचारिक संघर्षलाई तेजका साथ अगाडि बढाइरहन जरुरी छ ।

(३) विश्व दृष्टिकोणमा रुपान्तरणका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी आवश्यक :

कम्युनिस्ट पार्टी सर्वहारा वर्गको संगठित अग्रदस्ता भएको र देश जनताको मुक्तिको नेतृत्व गर्ने शक्ति भएको र माक्र्सवाद–लेनिनवाद–माओवादवादको पथप्रदर्शनमा सञ्चालन हुने पार्टी भएकोले विश्व दृष्टिकोणमा रुपान्तरणका लागि नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी आवश्यक भइरहन्छ ।

समाज बदल्ने, दुनियाँ बदल्ने ऐतिहासिक अभिभारा बोकेको हुनाले कम्युनिस्ट पार्टीको नेतृत्व मालेमावादको सिद्धान्त र त्यसको आधारभूत सिद्धान्तहरुबाट लैस भएको, त्यसका नेता कार्यकर्ताहरु अब्बल दर्जाका क्रान्तिकारी हुनैपर्छ । फलामे अनुशासनले बाँधिएका र विश्व दृष्टिकोणमा रुपान्तरण भएको हुनैपर्छ । त्यसो भए पछि मात्र उनीहरूबाट प्रतिक्रान्तिलाई रोक्ने कार्य एकहदसम्म सफल हुन सक्छ ।
रुस र चीन लगायतका देशहरुका कम्युनिस्ट पार्टी नेतृत्वमा आएको वैचारिक ह्रासका कारण ती देशहरूमा छिटो प्रतिक्रान्ति भएको हो ।

यसका अतिरिक्त पार्टी नेतृत्वले जनवादी केन्द्रीयताको सिद्धान्त (लेनिनवादी संगठनात्मक सिद्धान्त ) अंगिकार गर्ने र लागु गर्ने काममा प्रतिबद्ध नहुनु, लामो समयसम्म नेतृत्वमा रहिरहनु, नेतृत्व निरंकुश बन्दै जानु, पार्टी नेतृत्वले पार्टी भित्र भएको वर्ग उत्थानलाई रोक्नका लागि मालेमावादी सिद्धान्त र पध्दतिबाट पार्टी चिप्लिनु, पार्टी नेतृत्व चिन्तनका दृष्टिकोणले अधिभूतवादी बन्दै जानु जस्ता मार्क्सवादी कम्जोरीका कारण पनि ती देशहरूमा प्रतिक्रान्तिकारी तत्वले पार्टी भित्र घुम्ने र मौलाउने मौका पायो ।

(४) विश्व दृष्टिकोणमा रुपान्तरणमा पार्टी स्कुलिङको आवश्यकता :

आम पार्टी पंक्तिलाई, अर्थात् कम्युनिस्ट पार्टीको नेतृत्व र कार्यकर्ताहरुलाई क्रान्तिकारी बनाइराख्नका लागि पार्टी स्कुलिङलाई पार्टीले पार्टीको अनिवार्य आवश्यकता र योजना बनाएर नियमित र वैज्ञानिक ढंगले स्कुलिङ सञ्चालन गरिरहनुपर्ने हुन्छ । लेनिन, माओ, होचि मिन्हहरुले पार्टी भित्र पार्टी जुन स्कुलिङ सञ्चालन गर्नुभएको थियो । त्यसले पार्टी पंक्तिलाई क्रान्तिकारी बनाइरादख्ने काममा ठूलो मद्दत गर्दछ ।

लेनिन, माओ, होचि मिन्ह, आदि विश्व कम्युनिस्ट आन्दोलनका जग्रज नेताहरुले पार्टी स्कुलिङ सञ्चालन गरेका कारण पार्टी क्रान्तिकारी थिए र ऐतिहासिक उपलब्धिहरु हासिल गर्न पनि सफल भएका थिए । लेनिन र स्टालिनको मृत्यु पश्चात् सोभियत रुसमा प्रतिक्रान्ति भयो । त्यसको एउटा कारण पार्टी स्कुलिङलाई सिथिल तुल्याउनु पनि थियो ।

चीनमा नयाँ जनवादी क्रान्तिको सफलतापछि पार्टी स्कुलिङको कामलाई गौण बनाउँदै लगिएको अवस्थामा पार्टी पंक्ति भित्र वैचारिक स्तर कम्जोर भएको मौका छोपेर पार्टी भित्र प्रतिक्रान्तिकारीहरु पार्टी भित्र पार्टी विरुद्ध धावा बोल्न सफल भएका थिए । पछि कमरेड माओले पार्टी स्कुलिङ कम्जोर र भुत्ते भएको ठहर गरेर सन १९६३ मा १६ बुँदे शैक्षिक सर्कुलर जारी गरेर देशव्यापी रुपमा पठाउनु भयो । सन १९६६ देखि १९७६ सम्म त कमरेड माओले आफ्नै नेतृत्वमा महान् चिनिया सर्वहारा साँस्कृतिक क्रान्ति सञ्चालन गर्नु भयो ।

(५) नेपाली कम्युनिस्ट आन्दोलन भित्र विश्व दृष्टिकोणमा रुपान्तरणको समस्या :

सर्वविधितै कुरा हो, नेपाली कम्युनिस्ट आन्दोलनले ७२ वर्ष पार गरिसक्यो । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास धेरै लामो र समृद्धशाली पनि छ । यस आन्दोलनले यस ऐतिहासिक अवधिमा जनआन्दोलन, जनसंघर्ष, वर्ग संघर्ष, सशस्त्र जनयुद्धका जटिल, उकाली ओराली, बाङ्गाटिङ्गा घुम्तीहरु पार गर्दै आएको छ । अवश्यै यो आन्दोलन क्रान्तिकारी धारा र संशोधनवादी धाराका बीचको भीषण दुई लाइन संघर्ष, अन्तः संघर्षका क्रममा विकसित भएर आज यहाँसम्म आइपुगे छ ।

आज नेपाली कम्युनिस्ट आन्दोलन संशोधनवादी धारा र क्रान्तिकारी धारा गरी दुई धारामा विभाजित हुन पुगेको छ । बीचमा मध्यपन्थी अवसरवादी धारा रहेको छ । यो एउटा माक्र्सवादी नियम पनि हो ।

शैशवकालखेखि नै विश्व दृष्टिकोणमा रुपान्तरणको सवालमा नेपाली कम्युनिस्ट आन्दोलन ग्रसित र रोगी बन्दै आएको छ । विक्रम सम्वत २०१० सालमा सम्पन्न पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वदेखि आजसम्म आइपुग्दा (विभाजित भएकै अवस्थामा) नेपाली कम्युनिस्ट आन्दोलनको विभिन्न कालखण्डमा नेतृत्वमा पुगेको पार्टी नेतृत्व विश्व दृष्टिकोणमा रुपान्तरण हुन नसकेकै नेपाली क्रान्तिले ठूलो धक्का व्यहोर्नुपरेको छ । झापा विद्रोह र १० वर्षे जनयुद्धको नेतृत्व विश्व दृष्टिकोणमा रुपान्तरण हुन नसकेकै महान् नेपाली क्रान्तिले गम्भीर प्रकारको धोका खाँदै आएको छ र नेतृत्व गद्धार बन्दै आएको यथार्थता जागजाहेरै छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा क्रान्तिको महान् यात्रामा बीचमै प्रतिक्रान्ति हुनुको मुख्य कारण पार्टी स्कुलिङ सञ्चालनको अभाव हो । आजसम्म नेपाली कम्युनिस्ट आन्दोलन यहाँसम्म आइपुग्दासम्म पार्टी स्कुलिङ व्यवस्थित, योजनावद्ध र वैज्ञानिक ढंगले सञ्चालन गर्ने, पार्टी नेतृत्व र आम कार्यकर्ताहरुलाई स्कुलिङ गर्ने र अब्बल दर्जाका पार्टी कार्यकर्ता निर्माण गर्ने कामलाई पन्छ्याउँदै आएको इतिहास छ । यो नै नेपाली कम्युनिस्ट आन्दोलन भित्रको समस्या हो ।

(६) निचोड ;

रुस, चीन, भियतनाम लगायतका समाजवादी देशहरूमा भएका प्रतिक्रान्तिहरुले विश्व कम्युनिस्ट आन्दोलनमा अत्यन्तै ठूलो क्षति पुर्याएको छ । साथै क्रान्ति पूर्व नै नेपालमा भएको प्रतिक्रान्ति र पेरु , फिलिपिन्स लगायतका देशहरूमा क्रान्तिले धक्का खान पुगेका कारण नेपाल तथा विश्व क्रान्तिलाई नकारात्मक असर पारेकै छ । तैपनि यो अप्रत्याशित र आश्चर्यजनक कुरा होइन । माक्र्सदेखि माओसम्म सबैले देशमा क्रान्ति भइसकेपछि पनि त्यहाँ पुँजीवादको पुनस्थापनाको सम्भावना रहनेछ भनेर प्रष्ट पार्दै आउनु भएको छ ।

रुस, चीन, नेपाल लगायतका देशहरूमा भएको प्रतिक्रान्तिको अनुभवले कुनै देशमा क्रान्ति पहिले र क्रान्ति पछि पनि संशोधनवादका विरुद्ध सधैं सर्तक हुनुपर्ने र त्यसका विरुद्ध वैचारिक संघर्ष गर्नुपर्ने शिक्षा दिएको छ । विश्व कम्युनिस्ट आन्दोलनको अनुभव र नेपाली क्रान्ति कै के बताउँदै आएको छ भने कुनै पनि देशको क्रान्तिकारी आन्दोलन र क्रान्ति सिधार सोझो बाटोमा अगाडि बढ्दैन । त्यो कैयौं प्रकारको उतार, चढाव, सफलता, असफलता र बाङ्गाटिङ्गा बाटोहरुको बीचबाट भएर अगाडि बढ्छ ।

आज रुस, चीन लगायतका देशहरूमा क्रान्ति पछि र नेपाल जस्ता देशहरूमा क्रान्ति पहिले नै भएका प्रतिक्रान्तिले विश्वस्तरमै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु र क्रान्तिकारी आन्दोलनहरुलाई गंभीर प्रकारको प्रभाव पारिरहेको छ । र, क्रान्तिकारीहरुलाई रक्षात्मक अवस्थामा पुर्याएको छ । त्यसो भएर नेपाल लगायत विश्वभरका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले र स्वयम् क्रान्तिकारी माओवादी क्रान्तिकारी कम्युनिस्टहरुले सबैखाले प्रतिक्रियावादीहरु र संशोधनवादीहरुका विरुद्ध भीषण वैचारिक संघर्ष गरिरहनुको विकल्प छैन । किनभने आज पनि हरेक कम्युनिस्ट पार्टीहरुको नेतृत्व तहमा विश्वदृष्टिकोणमा रुपान्तरणका समस्या ज्यूउँका त्यूउँ छ ।

(लेखक अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन्) ।